images
images

बालेनको चेतावनीः विद्यालयमा अनुपस्थित शिक्षक र कर्मचारीलाई पदबाट हटाइने छ

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिँदै अनुपस्थित शिक्षक र कर्मचारीलाई पदमुक्त गर्ने चेतावनी दिएका छन्।

मेयर शाहले विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्‍याउने संस्था तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका हुन्। ‘अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१ (क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने छ,’ उनले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्।

उनले विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्‍याउने काम भएमा समिति विघटन गर्ने चेतावनीसमेत दिएका छन्। यस्तै कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेका खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाइ फौजदारी मुद्दा चलाउन पहल गर्ने उनको भनाइ छ।

सरकारले विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरेको तथा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ अनुसार कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हड्ताल र पठनपाठनमा अवरोध गर्नेजस्ता क्रियाकलाप नभएको हुनुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै उनले महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्ति क्षेत्रको अवधारणाविपरीत हुनेगरी कुनै पनि कार्य गर्न बन्देज गरिएको उनले उल्लेख गरेका छन्।