अदालतको आदेशले बाटो खुलेपछि महानगरले थाल्यो न्यूरोडमा फुटपाथ विस्तारको काम

काठमाडौं – उच्च अदालत पाटनको आदेशपछि काठमाडौं महानगरपालिकालाई न्यूरोडमा फुटपाथ विस्तार गर्न बाटो खुलेसँगै काम थालेको छ।

महानगरले आज बिहानैबाट न्यूरोडमा फुटपाथ विस्तारको काम सुरु गरेको हो। महानगरले डोजर लगाएर सडकको दायाँबायाँ भत्काइरहेको छ।

तीन दिन अघि उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

यसअघि सडक डिभिजन काठमाडौंले अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै सामान जफत गरी फुटपाथ विस्तारमा रोक लगाएको थियो । महानगरले फुटपाथ बिस्तारको लागि काटेको सडक समेत सडक समेत पुन कालोपत्र गरिएको थियो।