images
images

राजनीतिमा ७० वर्ष उमेरहद उपयोगी नभएर हटायौं : अध्यक्ष ओली

काठमाडौं, असार २ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेरहद उपयोगी नभएकाले पार्टीले सो उमेरहदको बन्देज हटाउने निर्णय गर्नुपरेको बताउनुभएको छ । ७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोड्नुपर्ने अप्ठ्यारो अवस्था आएपछि सो उमेरहद हटाउने निर्णय भएको उहाँको भनाइ छ ।

अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले चीनलगायतका दुनियाँका सबै पार्टीहरुले परित्याग गरिसकेको उमेरहद हटाउने निर्णय भएको प्रष्ट पार्नुभयो । केहीले पार्टीको सो निर्णयको विरोध गरेर अराजनीतिक कुरा गरेको उहाँको भनाइ छ । अध्यक्ष ओलीले पार्टीका युवाहरुलाई ७० वर्ष कटेकाहरुसँग प्रतिस्पर्धा गरेर महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्न आग्रह गर्नुभयो ।

काम गर्न सक्छन् भने ७० वर्ष कटेकालाई पार्टीभित्र प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नरहेको अध्यक्ष ओलीको भनाइ छ । उहाँले काम गर्न सक्नेलाई उमेरहदको नाममा जिम्मेवारीबाट रोक्नुपर्ने कुनै कारण नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अव थुप्रै साथीहरु यो ७० वर्ष छ भनेपछि हच्किएका थिए । कामै गर्न नपाउने ७० वर्ष पुगेपछि राजनीति नै छोडनुपर्ने स्थिति, कमिटी नै छोडनुपर्ने स्थिति भएपछि यो ७० वर्षे उमेरहद हटाउनु परेको हो ।’

अमेरिकामा ८० वर्षको मान्छेले राष्ट्रपतिको जिम्मेवारी निर्वाह गरिरहेको उहाँले चर्चा गर्नुभयो । शेरबहादुर देउवाजी ७७ वर्षको हुनुभयो, पार्टी चलाई राख्नुभएकै छ उहाँले भन्नुभयो । “७० वर्ष पार गरेर  चीनमा राष्ट्रपति हुनुभएकै छ । ६५ वर्ष थियो साईप्रसमा । साईप्रसले पनि हटाइसक्यो” अध्यक्ष ओलीले थप्नुभयो, “यस्ता कुरामा अल्मलिएर, अल्झेर बस्नु हुँदैन, दुनियाँमा कहीँ नभएको कुरा, कहीँ नभएको जात्रा हामीले गर्न किन जरुरी छ र ?”

ओलीले २०८४ सालको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दावी गर्नुभयो । त्यसका लागि वडा वडामा गएर काम गर्न उहाँले नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । एमाले एक्लै ५० प्रतिशत भन्दामाथि हुनेगरी परिणाम ल्याउनुपर्छ उहाँको भनाइ छ ।