images

नेपाल एयरलाइन्सले तिर्यो ४३ करोडभन्दा बढी ऋण

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिदको किस्ता वापतको ४३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुई न्यारोबडी जहाजको असार महिनाको किस्तावापत पूरा र वाइडबडी जहाजको आंशिकगरी असार मसान्तसम्मको रकम भुक्तानी गरेको हो ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो । निगमको पछिल्लो व्यवस्थापन सम्हालेयता २०८१ असारसम्म पाँच अर्ब ७९ करोड ७६ लाख ४२ हजार दुईसय ४९ किस्ता रकम भुक्तानी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

निगमले कोरोना महामारीका कारण निगमको व्यापारमा प्रतिकूल असर परेकाले उक्त अवधिको व्याजको व्याज, हर्जाना र जरिमाना छुट गरिदिन दुई कोषलाई अनुरोध गरेको छ । साथै किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन निगमले दुवै कोषलाई अनुरोध पत्र पठाइएको निगमले जनाएको छ ।