पर्साको सखुवा प्रसौनी गाउँपालिका कार्यालयले भरतपुर महानगरपालिका– २९ मा पर्ने सिमलतालस्थित त्रिशूली नदीमा बस खसेर बेपत्ता भएका र मृत्यु भएका परिवारलाई राहतस्वरूप जनही एक लाख २५ हजार नगद दिने भएको छ ।
गत शुक्रबार बिहान सिमलतालमा झरेको पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसमा सखुवा प्रसौनी गाउँपालिकाका चार र महुवन स्वास्थ्य चौकीमा कार्यरत एकसहित पाँचजना परेकाले राहतस्वरूप जनही एक लाख २५ हजार रुपैयाँ उपलब्ध गराउने गाउँपालिका अध्यक्ष यशवन्त यादवले जानकारी दिए ।
उनका अनुसार बस उक्त दुर्घटनामा परेर नदीमा बेपत्ता भएका सखुवा प्रसौनी गाउँपालिकाका एकै परिवारका तीनजनासहित पाँचजनामध्ये अहिलेसम्म एकजनाको मात्र शव भेटिएको छ । वीरगन्जबाट काठमाडौं जाँदै गरेको एञ्जल बसमा सवारमध्ये सखुवा प्रसौनी– २ जमुनियाकी २४ वर्षीया प्रभा चौधरीको शव दुर्घटनास्थलबाट १०३ किलोमिटरको दूरीमा बुधबार भेटिएको थियो ।
उनको बिहीबार देवघाटमा दाहसंस्कार पनि गरिसकिएको छ । बसमा सवार उनका बुबा हृदयनारायण चौधरी र आमा भगवती देवीको अवस्था अझै अज्ञात नै छ । उनीहरू तीनैजना आमा भगवती देवीको उपचार गराउन वीरगन्जबाट काठमाडौं जाँदै थिए ।
यस्तै, एञ्जल बसमै सवार सखुवा प्रसौनी गाउँपालिकाकै वडा नम्बर ३ का २२ वर्षीय रैफुल आलम र सखुवा प्रसाैनी– ५ महुवनको स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी सृष्टि यादवको पनि अहिलेसम्म शव फेला पर्न सकेको छैन। आलम र यादव एउटै स्वास्थ्यचौकीमा कार्यरत थिए ।


लाल्टिन खबर 






