images

राष्ट्र बैंकमा एमाले हाबीः एकाएक रोकियो शुक्रबार सार्वजनिक गरिने भनिएको मौद्रिक नीति

काठमाडौं । सरकार परिवर्तनसँगै एमाले र प्रधानमन्त्रीको सचिवालयको प्रत्यक्ष छाया राष्ट्र बैंकमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा पूर्व गभर्नर समेत रहेका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भए सँगै राष्ट्र बैंकमा एमाले हाबी भएको हो । उनको नियुक्तिसँगै प्रत्यक्ष रूपमा राष्ट्र बैङ्कमाथि डा.खतिवडा हाबी भएको स्रोतको दाबी छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको थियो । तर बिहीबार एकाएक डा.खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा भएर आएसँगै एकाएक पूर्व निर्धारित मौद्रिक नीतिको सार्वजनिक कार्यक्रम रोकिएको हो ।

तथापि, यता राष्ट्र बैंक स्रोतले भने सञ्चालक समितिमा मौद्रिक नीतिबारे पर्याप्त छलफल गर्न बाँकी नै रहेकाले केही समय होल्ड गर्नुपरेको जनाएको छ ।  जेठ १५ गते सरकारको वित्त नीति (बजेट) सार्वजनिक भएसँगै राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी थालिसकेको थियो ।

अनलाइन तथा भौतिक रूपमा निजी क्षेत्र, आर्थिक विज्ञ तथा सरोकारवाला निकायहरूसँग सुझाव लिएको राष्ट्र बैंकले मौद्रिक नीतिका लागि आवश्यक सबै प्रक्रिया पुरा गरिसकेको थियो ।

पहिलो पटक मौद्रिक नीतिकै सन्दर्भमा आवश्यक सल्लाह तथा सुझाव समिति समेत गठन गरेर सहयोग लिएको राष्ट्र बैंकले साउनको पहिला साताभित्रै मौद्रिक नीति ल्याउने तयारी गरेको थियो । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने गरी राष्ट्र बैंकले बिहीबार बिहान बोर्ड बैठक राख्ने तयारी समेत गरेको थियो । तथापि, एकाएक रोकियो ।

प्रचण्ड नेतृत्वको सरकार फेरिएर नेकपा एमालेसहित कांग्रेसको सरकार बन्दा यतिखेर अर्थ मन्त्रालय र राष्ट्र बैंकमा एमालेकै नेतृत्व रहेको छ । अर्थमन्त्रीमा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रहेका छन् भने राष्ट्र बैंकमा एमालेकै आर्थिक विभागमा काम गरिसकेका प्रधानमन्त्री ओली निकट महाप्रसाद अधिकारी गभर्नर छन् ।

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा पूर्व गभर्नर समेत रहेका पूर्व अर्थमन्त्री डा. खतिवडा आएपछि प्रधानमन्त्रीकै अनुमतिमा राष्ट्र बैङ्कमाथि डा.खतिवडा सिधै हाबी भएको स्रोतको दाबी छ ।