नयाँ सरकार गठनपछि नेप्से १६६ अंकले बढ्यो

काठमाडौं – दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहित अन्य दल मिलेर सरकार बनाएपछि राजनीतिक स्थिरताको सन्देशले पुँजी बजारमा सुधार आएको छ ।

नयाँ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएपछिका चार दिनमा नेप्से १६६ अंकले बढेर परिसुचक २४२४.३२ अंक पुगेको छ ।

लामो समयदेखि २ हजार बिन्दुको नजिक रहेको नेप्से चारै दिनमा २४२४ अंकमा पुगेको हो । नेप्सेसँगै कारोबार संख्या र रकममा पनि सुधार आएको छ । नेप्सेका अनुसार अर्बौं रकमबराबर कारोबार भइरहेको छ । बिहीबार १५ अर्ब ५४ करोड रूपैयाँको कारोबार भएको थियो ।

पछिल्लो समयमा बैंक ब्याजदर घटिरहेको छ । प्रत्येक महिनाजस्तै निक्षेप र कर्जा दुवैको ब्याजदर घट्दो क्रममा रहेको छ । यसले पनि पुँजीबजारमा सुधार गर्न सहयोग पुगेको देखिन्छ । केही दिनयता सार्वजनिक मन्तव्यहरूमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति लचिलो आउने संकेत गर्दै आएका छन् पछिल्ला चार दिनमा सेयर बजार लयमा फर्किंदा परिसूचक २७ महिनायताकै उच्च बिन्दुमा पुगेको छ ।

पछिल्ला दिनमा वाणिज्य बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । ब्याजदर सस्तो भएको र बैंकिङ प्रणालीमा प्रशस्त पैसा भएकाले लगानीकर्ताले कर्जा लिएर सेयर किन्दा फाइदामा पुग्ने आकलन गरिएकोले बजारमा सुधार आएको हो । अहिले सेयर बजार बढ्नुमा राजनीतिक स्थिरता, अर्थमन्त्रीमा पौडेल, घट्दो ब्याजदर र लचिलो मौद्रिक नीतिलाई मुख्य कारण मानिएको छ । अर्थमन्त्री बनेपछि पौडेलले अर्थतन्त्रको ऐना नै सेयर बजार भएको र यसको विकास र विस्तारमा आफू लाग्ने बताएको कारण लगानीकर्ता उत्साहित भएको इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताएका छन् । लगानीकर्ताले पौडेललाई रुचाएकै कारण सेयर बजारमा उत्साह छाएको आकलन गरिएको छ । अहिलेको कारोबारले बजार पछाडि फर्कने अवस्था कम नै रहेको छ ।

 

नेप्सेका अनुसार गत साता कारोबार बन्द भएको दिन बिहीबार २२०४ विन्दुमा रहेको नेप्से परिसूचक आइतबार २२५७ पुगेको थियो । त्यसपछि सोमबार सामान्य करेक्सन आएर २२४० विन्दुमा झरेको परिसूचक मंगलबार २३१०, बुधबार २३६४ र बिहीबार २४२४.३२ विन्दुमा उक्लिएको हो । बिहीबार ३१२ धितोपत्रको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर १ लाख ८४ हजार ७१२ पटक खरिद–बिक्री भएको थियो, जसबाट १५ अर्ब ५४ करोड रूपैयाँबराबरको कारोबार हुन पुग्यो । कारोबार भएकामध्ये पाँच धितोपत्रको मूल्य १० प्रतिशतका दरले बढेको छ ।

 

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था र थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको हो । बिहीबार कुमारी सबल योजनाको इकाई मूल्य सबैभन्दा बढी ५.७६ प्रतिशत घटेको छ । यसैगरी सिन्धु विकास बैंकको सेयर मूल्य ४.५७ प्रतिशत घटेर ५०१ रूपैयाँमा झरेको छ । सर्वाधिक सेयर खरिद–बिक्रीको हिस्सा नेपाल फाइनान्सले ओगटेको छ ।

 

यस कम्पनीको ४२ करोड ४६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रोमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको ३८ करोड ९१ लाख रूपैयाँबराबरको कारोबार भएको छ । बिहीबार कारोबारमा आएका १३ समूहगत सूचकमध्ये दुई समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । सबैभन्दा बढी बैंकिङ समूहको सूचक ६.२८ प्रतिशत वृद्धि भएको छ भने वित्त समूहको सूचक १.२७ प्रतिशत घटेको छ ।