काठमाडौँ, ५ साउन – नेपालमा नेपालीसँगै अन्य भाषामा पनि चलचित्र बन्ने गरेका छन् । ती चलचित्र कम सङ्ख्यामा निर्माण हुनुका साथै निश्चित भेगमा मात्र सीमित छन् । उनीहरू आफ्नो भाषाको बाहुल्यता भएका दर्शक माँझ मात्र प्रदर्शन भइरहेका छन् । यद्यपि तराई क्षेत्रमा बोलिने मैथली भाषालाई लक्षित गर्दै चलचित्र निर्माण रोकिएको झैँ छ ।
तराईमा चलचित्र भवनको सङ्ख्या राम्रो भए पनि हिन्दी र भोजपुरी भाषामा तयार भएका चलचित्रको दबदबा छ । तराईमा बोलिने मैथली भाषामा चलचित्र निर्माण नभएपछि ती चलचित्र भवनमा फाट्टफुट्ट नेपाली भाषाका चलचित्र प्रदर्शन हुन्छन् । मैथली भाषामा बन्ने चलचित्र, लघुचलचित्रको सङ्ख्या निक कम छ । मिथिला संस्कृति र मैथली भाषालाई प्रवर्द्धन गर्ने उद्देश्यले केही समय अगाडि जनकपुरधाममा पहिलोपटक दुई दिने ‘मैथली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना गरिएको थियो । उक्त महोत्सवमा नेपालसँगै भारतमा रहेर मैथली भाषाका चलचित्र, लघुचलचित्र र वृतचित्र निर्माण गरिरहेका व्यक्तिहरू उपस्थित थिए । त्यहाँ प्रदर्शन भएका चलचित्रमा नेपालबाट बनेको कुनै मैथली भाषाको चलचित्र थिएन । स्वदेशी मैथली भाषाको चलचित्र नहुनु दुःखद् रहेको निर्देशक तथा कलाकार रमेश रञ्जन झाले बताउनुभयो । “छोटा चलचित्र बनेका छन्, तर ठूला चलचित्र नबन्दा यहाँका जनशक्ति बाहिरका उद्योगमा गएर काम गरिरहेका छन्, तर हामी आशावादी छौँ, किनकि अब नयाँपुस्ताले नवीतम सोच र कथा ल्याउने छन्, वीरगञ्जदेखि जनकपुर हुँदै तयारको बजारलाई लक्षित गर्दै कसैले त अवश्य प्रयास गर्नेछन्”, झाले भन्नुभयो । उहाँ निर्माता तथा निर्देशकलाई प्रोत्साहन गर्न ‘मैथली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हरेक वर्ष आयोजना गर्ने तयारीमा हुनुहुन्छ । उहाँका अनुसार अहिले निर्माण हुने ससाना चलचित्र रहरिया (रहर गर्ने) ले तयार गरेका छन् ।
अभिनेता तथा निर्देशक नीर शाहले चलचित्रकर्मी अन्तर सांस्कृतिक हुन नसकेका कारण त्यसको प्रभाव चलचित्रमा परेको विश्लेषण गर्नुभयो । उहाँले विविधतायुक्त देशको संस्कृतिले एकअर्कालाई एकताको सूत्रमा आबद्ध गरेको बताउनुभयो । “अहिले विदेशी चलचित्रकर्मीसँग लगानीको अभाव छैन । धेरै ठूला बजेटमा चलचित्र बनेको खबर सुन्ने गरिन्छ, तर त्यसमा विषयवस्तुको अभाव देखिन्छ, त्यसकारण हामीले हाम्रो कथालाई हाम्रो भाषा र शैलीमा चलचित्रमा प्रस्तुत गर्न ढिलो गर्न हुँदैन, यसमा सम्बन्धित निकायको सहयोग र सहभागिता पनि जरुरी छ, नत्र हाम्रो कथालाई विदेशीले विदेशी भाषामा तयार गर्नेछन् र हामी हेर्न बाध्य हुनेछौँ, यो अवस्था नआउला भन्न सकिन्न्”, अभिनेता शाहले भन्नुभयो । ‘सस्ता जिन्दगी महङ्ग सिन्दुर’,‘गामक घर’, ‘ललका पाग’ जस्ता मैथली भाषामा बनेको चलचित्र नै अहिले पनि तराईमा स्मरण गरिन्छ । त्यसलाई भारतीय कम्पनीले निर्माण गरेको हो । पछिल्लो समय डिजिटल प्लेटफर्ममा केही चलचित्र उपलब्ध छन् । यद्यपि जनकपुर लगायतका तराईमा चलचित्र भवनमै प्रदर्शन गरिने चलचित्र लगभग छैन । मैथली चलचित्रमा नयाँ पुस्ताले नवीतम सोच र कथा ल्याएको निर्देशक पुर्णेन्दु के झाको बुझाइ छ ।
विदेशमा मैथली भाषामा बनिरहेका चलचित्र हेर्नुका साथै ती चलचित्रकर्मीसँग संवाद गरेर उहाँ आफैँ पनि नयाँ चलचित्रको तयारीमा हुनुहुन्छ । उहाँ ‘लेवर’ नामक चलचित्र मैथली भाषामा तयार गरेर नेपाली र भोजपुरीमा स्वराङ्कन गराउने तयारीमा हुनुहुन्छ । यसले नेपालमै छरिएको बजारमा एउटै चलचित्रमार्फत पुग्न सकिने उहाँको बुझाइ छ । “लगानीकर्ताले सुनिश्चित्ता चाहेका छन्, यहाँ उत्पादन भएका जनशक्ति बाहिरका चलचित्र उद्योगमा काम गरिरहेका छन्, हामीले गर्ने महोत्सवलगायत गतिविधिले मैथली चलचित्रकर्मीलाई जोड्ने काम गरिरहेका छौँ, यसले आगामी दिनमा संयुक्त रुपमा चलचित्र निर्माण गर्न प्रेरणा दिन्छ, आउँदो समय विस्तारै राम्रो हुन्छ भन्नेमा पूर्ण आशावादी छु”, निर्देशक झाले भन्नुभयो ।
तराईमा विशेषत कोशी र मधेस प्रदेशमा मैथिली चलचित्रको राम्रो बजार बन्न सक्ने जानकारहरुको बुझाइ छ । किनकि त्यहाँ ‘सस्ता जिन्दगी महङ्ग सिन्दुर’ चलचित्रले गरेको व्यापारको चर्चा आज पनि हुन्छ । पछिल्लो समय चलचित्रसँगै गीतसङ्गीत, छोटा चलचित्रस्तरीय नबन्दा दर्शकले चासो देखाएका छैनन् । यसले गर्दा पनि मैथली भाषामा चलचित्र नबनेको धेरै समय भइसकेको छ ।