images
images

भरतपुर महानगरपालिकाले आन्तरिक र बाह्य पर्यटक भित्र्याउन भ्रमण वर्ष मनाउने

भरतपुर । सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउन तयारी थालिएको छ । चितवनको भरतपुर महानगरपालिकाले आन्तरिक र बाह्य पर्यटक भित्र्याउन भ्रमण वर्ष मनाउन लागेको हो।

देशकै प्रमुख पर्यटकीय गन्तव्य रहेको भरतपुरलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन भ्रमण वर्ष मनाउन लागिएको हो । महानगरका पर्यटन विज्ञ सल्लाहकार विश्व सुवेदीका अनुसार महानगरपालिका प्रमुख रेनु दाहाल संयोजक रहेको ५०१ सदस्यीय मूलसमिति बनाइएको छ ।

दाहाल नै संयोजक रहेको पाँच सदस्यीय निर्देशन समिति छ । यो समितिमा उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, पर्यटन महाशाखा प्रमुख र सदस्य सचिवमा पर्यटन विज्ञ सुवेदी छन् । उपप्रमुख अधिकारी संयोजक रहेको कार्यसम्पादन समिति बन्दैछ । विभिन्न उपसमिति बन्ने क्रममा छन् । कतिपय समितिले काम थालेका छन् । भ्रमण वर्षको लोगो तयार भइसकेको छ भने नारा तय हुँदै गरेको सुवेदीले जानकारी दिए ।

सूचनाका लागि व्रोसर, वृत्तचित्र र एप बन्दैछ । सङ्घ र प्रदेशमा विभिन्न प्रस्ताव पेस गरिएको छ । महानगर प्रमुख दाहालले महानगरको गन्तव्य राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न, पर्यटकको सङ्ख्या र बसाइँ अवधि वृद्धि गर्न भ्रमण वर्ष मनाउन लागिएको बताइन् । उनले महानगरभित्रका नयाँ गन्तव्य पहिचान गरी प्रचारप्रसार गरिने जानकारी दिइन् । महानगरभित्रका पर्यटकीय गन्तव्यको पूर्वाधार विकास र सौन्दर्य करण गरिने दाहालको भनाइ छ । उनले भनिन् “भ्रमण वर्षका अवसरमा सङ्घ, प्रदेश र राष्ट्रियस्तरका ५० भन्दा बढी कार्यक्रम गर्ने योजनामा छौँ ।” भरतपुर देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको भन्दै उनले भ्रमण वर्षको कार्यक्रमले यहाँको पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताइन् । उपप्रमुख अधिकारीले महानगरभित्र पहिचान भएका महत्वपूर्ण ३० पर्यटकीय गन्तव्य रहेको बताए । ती मध्ये मेघौली, पटिहानी, नारायणी सि बीच मोडल, बीस हजारी ताल, देवघाट धाम, चौकीडाँडा गरी सात वटालाई प्रमुख गन्तव्यको रुपमा राखेर प्रवद्र्धन गरिँदै आएको बताए । अधिकारीले भने कोभीड पछि सुस्ताएको पर्यटन क्षेत्रको प्रवद्र्धनमा भ्रमण वर्ष प्रभावकारी हुनेछ ।” राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित चितवन राष्ट्रिय निकुञ्ज प्रवेशद्वार भरतपुर महानगरका धेरै ठाउँबाट रहेका छन् । निकुञ्जको धेरै जनावर पाइने पश्चिमी क्षेत्र महानगर हुँदै प्रवेश गरिन्छ ।

सुर्यदयका लागि चौकीडाँडादेखि सूर्यास्तका लागि गोलाघाट सम्म भरतपुरमा पर्दछन् । त्यसो त पवित्र तीर्थस्थल देवघाटधाम, गणेश धाम लगायत धार्मिकस्थल पनि यहाँ रहेका छन् । महानगरपालिका राप्ती र नारायणी नदीको बीचमा रहेको छ । दुवै नदी पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण मानिन्छन् । चितवन देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । पछिल्लो समय जिल्ला आउने खर्चिला पर्यटकको रोजाइ भरतपुर महानगरको पटिहानी, जगतपुर, मेघौली हुने गरेको छ ।रासस