जीबी राईबारे थप प्रमाणः सूर्यदर्शनबाट गोरखा मिडिया नेटवर्कमा साढे ५ करोड ट्रान्सफर

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न गठित विशेष संसदीय समितिले प्रदेश र स्थानीय तहका नियामक निकायहरूसँग छलफल गरेको छ । शुक्रबार बसेको बैठकमा समितिले विभिन्न प्रदेश र स्थानीय तहका सहकारीका नियामक निकायका पदाधिकारीहरुसँग छलफल गरेको हो ।

छलफल सूर्यदर्शन, सानो पाइला, सुप्रिम, ईमेज, साहारा, समानता लगायतका सहकारी संस्थाहरुमा केन्द्रित भएको बताइएको छ । छलफलमा स्थानीय तह र प्रदेश स्तरमा सहकारी संस्थाहरुको अवस्था कस्तो छ भन्ने विषयमा छलफल भएको थियो । सो क्रममा सूर्यदर्शन सहकारीका सम्बन्धमा पोखरा महानगरपालिकाले गठन गरेको छानविन समितिको प्रतिवेदनका बारेमा जानकारी गराइएको थियो । त्यस्तै, सुप्रिम सहकारीको बारेमा पनि जानकारी लिएको छ ।

काठमाडौँ महानगरपालिकाले ४० वटा सहकारी संस्थाको अनुगमन गरी तयार पारेको प्रतिवेदन र देखापरेको प्रवृत्तिको बारेमा पनि छलफल भएको थियो।

हालसम्म गोरखा मिडिया नेटवर्कमा गएको रकम एउटा ४ करोड ८८ लाख  हजार २ सय ७१ रुपैयाँ ७६ पैसा र २० लाख र ५० लाखमध्ये गोरखा मिडियामा सिधै २० लाख र जीबी ग्रुप अफ कम्पनीमा ५० लाख गएको समितिका सभापति सुर्य थापाले बताए । सबैगरी करिव साढे ५ करोड रुपैयाँ सूर्यदर्शन सहकारीबाट गएको देखिएको थापाले बताएका छन् । उनले जीबी राई, भूपेन्द्र राई, थानेश्वर बुढा, शिवबहादुर गुरुङ, कुमार रम्तेलको नाममा र उनीहरुको मार्फत हेमन्त अधिकारी र स्वर्णलक्ष्मी सहकारीको नाममा गएको बताए ।

एउटा सहकारीको चेक अर्को सहकारीको नाममा ट्रान्सफर भएको पनि उदाहरण रहेको बताउँदै थापाले कुन चेक नम्बरबाट कुन मितिमा कसरी सहकारीको रकम पुगेको छ भन्ने पनि तथ्य प्राप्त भएको बताएका छन् ।