images

पदीय लेनदेनको हिसाब मिलाउन उपसभामुखको विवाद निकालियो-रास्वपा

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा राना मगरको नाम उल्लेख गरी विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै यो विषयमा पार्टीले यसअघि नै सोधखोज गरिसकेको पनि जनाएको छ ।

‘केही समयअघि उक्त विषयबारे पार्टीमा सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको थियो । सो क्रममा भिसाका लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन सकेन । यसै सन्दर्भमा सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डीपी अर्यालले गर्नुभएको अडियो रेकर्डिङ हामीसँग सुरक्षित रहेको जानकारी गराउँदछौ’, विज्ञप्तिमा भनिएको छ ।

उपसभामुख रानाका विषयमा निष्पक्ष छानबिनका लागि आफू तयार रहेको पनि उसले बताएको छ। ‘विभिन्न कूटनीतिक निकाय एवं जानकारहरूसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मिति मात्र होइन, भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको छ’, रास्वपाले विज्ञप्तिमार्फत भनेको छ, ‘उपसभामुखज्यूलगायत अन्य नेताहरूबाट कूटनीतिक मर्यादासँग सम्बन्धित विषयमा असावधानीपूर्वक गतिविधिहरू भए/नभएकोबारे अख्तियार प्राप्त निकायबाट हुने निष्पक्ष छानबिनका पक्षमा रास्वपा सधैँ रहिआएको सम्बन्धित सबैमा स्पष्ट पार्न चाहन्छौँ।’

रास्वपाले निष्कलंक छविकै कारण रानालाई सांसद र उपसभामुखको उम्मेदवार बनाएको दाबी पनि रास्वपाले गरेको छ। ‘आफ्ना सारा आम्दानी र सम्पत्ति निःस्वार्थ समाजसेवामा लगाउनुभएकी उपसभामुखज्यू विभिन्न प्रतिष्ठित राष्ट्रियरअन्तर्राष्ट्रिय पुरस्कारबाट समेत विभूषित हुनुहुन्छ’, विज्ञप्ति भनिएको छ, ‘उहाँको निष्कलंक र उज्यालो छविकै कारण रास्वपाले उहाँलाई पहिले सांसद र पछि उपसभामुखको उम्मेदवारका रूपमा प्रस्तुत गरेको हो। यद्यपि पदमा निर्वाचित भइसकेपछि इन्दिरा राना मगर पार्टीको सदस्य नरहनुभएको सर्वविदितै छ।’

संघीय संसद सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिने दाबी पार्टीले गरेको छ ।

 

rsw-1721533218.jpg