images

शेयरबजार मात्रै होइन अब देशको पूरै बजार चलायमान हुन्छ भन्दै प्रधानमन्त्री सुनाए यी ६ अनुभव

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अब अर्थतन्त्रको ऐना मानिने शेयरबजार मात्र होइन देशको सम्पूर्ण बजार चलायमान हुने बताएका छन् ।

आज आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भइ नयाँ सरकार गठन हुने समाचार बाहिर आएसँगै शेयरबजार बढ्न थालेको चर्चा गर्दै सिंगो देशमा उत्साह छाएको बताएका हुन् ।

‘अर्थतन्त्रको ऐना मानिने शेयरबजार हरियो बनेको छ । ५० लाख भन्दा ढबी लगानीकर्ता संलग्न शेयरबजार पछिल्लो दुई सातामा ४०० अंकले बढेको छ । नेप्से २७ महिनायताकै उच्च विन्दुमा पुगेको छ । हाम्रो सरकारप्रति जनताले देखाएको भरोसा र विश्वासको प्रमाण यही हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यो सम्मानित सदनमार्फत सम्पूर्ण दिदीबहिनी दाजुभाइलाई भन्न चाहान्छु– अब शेयरबजार मात्रै होइन अब देशको पूरै बजार चलायमान हुनेछ ।’

सिंगो देशलाई चलायमान बनाउने आत्मविश्वास आफूहरूसँग रहेको विश्वास दिलाउँदै प्रधानमन्त्री ओलीले आफूले सरकार सञ्चालन गर्दाका विभिन्न ६ वटा अनुभव पनि सदनलाई सुनाएका छन् । त्यो अनुभवले वर्तमान सरकारले उत्कृष्ट काम गर्नसक्ने भनाइ उनको थियो ।

२०७२ सालको भूकम्पपछिको पुननिर्माणमा अन्तर्राष्ट्रिय जगतले समेत प्रशंसा गर्नेगरी गरेको काम, लगातार ७ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि गरेर अन्तर्राष्ट्रिय जगतलाई ध्यानाकर्षण गरेको, विश्व बैंकले नेपालालई दक्षिण एशियाको शाइनिङ भन्ने अवस्था सृजना गरेर सिंगो देशलाई गदगद बनाएको, निरपेक्ष र बहुआयामिक गरिबी घटाएको, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने मान्यताबाट निर्देशित हुँदै बाह्य सम्बन्ध विस्तार र सुदृढीकरणमा काम गरेको तथा अभूतपूर्व राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गराएको अनुभव उनले सुनाएका छन् ।