images

राष्ट्रियसभा : विपद् प्रभावितलाई पुनःस्थापना गर्न माग

काठमाडौँ, ७ साउन – राष्ट्रियसभाका सांसदहरुले बाढीपहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत र पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा उहाँहरुले जनजीविकाका सवालमा आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा नेकपा (एमाले) का सांसद शारदादेवी भट्टले सुदूरपश्चिमको दुर्गम भेगका बासिन्दा जीविकोपार्जन गर्न भारतका विभिन्न स्थानमा गई जोखिमपूर्ण काम गर्न बाध्य भएको उल्लेख गर्दै यसको समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

शून्य र विशेष समयमा बोल्दा पनि सुनुवाइ नुहुने गरेको उहाँको गुनासो थियो । नेकपा (माओवादी केन्द्र) का सांसद जगतबहादुर पार्कीले संसद्का दुई ठूला पार्टी मिलेर नयाँ सरकार बनेकाले वर्तमान सरकारले उठाएको संविधान संशोधनको विषय समयानुकुल नभएको उल्लेख गर्नुभयो । उहाँले सङ्घीयता र समानुपातिक प्रणालीलाई दोष दिएर मुुलुकमा स्थिरता नहुने भन्दै संविधानको प्रभावकारी कार्यान्वयनमा जोड दिन सुझाव दिनुभयो ।

नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले नयाँ सरकारले सात बुँदे सहमतिलाई अक्षरसः पालना गर्नुपर्नेमा जोड दिनुभयो । उपसभामुख इन्दिरा रानामगरका सम्बन्धमा सार्वजनिक भएको विषय सही भए पदबाट राजीनामा दिन उपयुक्त हुने उहाँको भनाइ थियो । सांसद मिश्रले बाढीपहिरोबाट हुने विपद्बाट जोगाउन पहाडमा गाउँगाउँमा डोजर आतङ्क बन्द गर्नुपर्ने सुझाव दिनुभयो ।

सांसद मदनकुमारी शाह (गरिमा)ले मुलुकुभर प्राकृतिक विपदमा परेर जनधनको क्षति भइरहेको भन्दै जुनसुकै समयमा विपद्का घटना घट्नसक्ने भएकाले सरकारले सचेतना अपनाउनुपर्नेमा जोड दिनुभयो । “प्राकृतिक विपद्का कारण अन्नबाली उत्पादनमा क्षति हुँदा खाद्यान्न सङ्कट भइरहेको छ, यसको पूर्व तयारीका लागि जोड दिन्छु ।” उहाँले विदेशमा अप्ठ्यारोमा परेका महिलाको उद्धार गर्न आग्रह गर्नुभयो ।