images
images

एउटा शवको पोस्टमार्टमका लागि चार घण्टा लाग्ने, भोलिमात्र परिवारलाई बुझाइने

काठमाडौं – बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शवको शिक्षण अस्पतालमा महाराजगञ्जमा पोस्टमार्टम आज पनि जारी छ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका अनुसार पोस्टमार्टमका लागि तीन टोली खटिएका छन्।

पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक सहभागी छन्। एउटा शवलाई पोस्टमार्टम गर्नका लागि कम्तिमा पनि चार घण्टा लाग्ने चिकित्सकले बताएका छन्।

सबैको पोस्टमार्टम गरेर भोलिसम्ममा परिवार र आफन्तलाई शव जिम्मा लगाउन सकिने पोस्टमार्टममा सहभागी चिकित्सकले बताएका छन्।

बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दुर्घटना भएको थियो। जसमा परेर मृत्यु भएका १८ जनाको पोस्टमार्टम भइरहेको हो।

दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्यको उपचार जारी छ। यस्तै जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ।