images
images

सौर्य जहाज दुर्घटना: नियमको लापरवाहीले समयमै उद्धार नहुँदा एयरपोर्टभित्रै मृत्यु, प्राधिकरण नेतृत्वको ध्यान अन्तै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीमाभित्र सौर्य एयरको विमान दुर्घटनापछि उद्धारका क्रममा भएको कमजोरीले समग्र हवाई सुरक्षा र उड्डयन सुरक्षाप्रति नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्वको लापरवाही उदांगो भएको छ 

काठमाडौं – अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को एयरपोर्ट सर्भिस म्यानुअल ९८४७ अनुसार विमानस्थलको सीमाबाट ४ किलोमिटरसम्मको दुरीमा हुने हवाई दुर्घटनामा उद्धारको कमान्ड र कन्ट्रोल रेस्क्यू एण्ड फायर फाइटिङ सर्भिसेस डिभिजनले लिनु पर्छ ।

म्यानुअलअनुसार विमानस्थलको सीमाभित्र घट्ने कुनै पनि दुर्घटनामा २ देखि ३ मिनेटभित्र रेस्पोन्स गरिसक्नु पर्छ ।

तर, बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीमाभित्र १८ जनाको ज्यान जाने गरी सौर्य एयरको विमान दुर्घटना हुँदा रेस्क्यू एण्ड फाइर फाइटिङ डिभिजनले उद्धारका काम सुरु गर्न १२ मिनेट बढी समय लगाएको पाइएको छ ।

ठूला ढुंगा राखेर इमर्जेन्सी गेटमा अवरोध भएपछि विमानस्थलको तारबार तोडेर दमकल लैजानु परेका दमकललाई दुर्घटनास्थल पुग्न समय लागेको रेस्कुयूमा संलग्न अधिकारीहरु बताउँछन् ।

‘विमानस्थलभित्र रहेको फायर प्वाइन्टबाट ५०० मिटरको दुरीमा दुर्घटना हुँदासमेत उद्धार सुरु गर्न समय लाग्नु निकै गम्भीर विषय हो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एक अधिकारीले भने, ‘सिंगापुरको विमानस्थलमा उद्धार समय घटाउन विमानस्थलभित्र विभिन्न स्थानमा फायर प्वाइन्ट बनाइएको छ । यहाँ फायरको नजिकै दुर्घटना हुँदा १२ मिनेटपछि दमकल पुग्नु ठूलो लापरवाही हो ।’

सायद २०७८ सालमा उड्डयन क्षेत्रमा सेवा प्रदायक र नियामक छुट्याउने गरी कानुन पारित भएको भए उड्डयन क्षेत्रको नियामक निकायले प्रोटोकलअनुसार तयारी भए नभएको विषयमा अनुगमन गर्ने थियो । तर, एउटै संस्थाभित्र सेवा प्रदायक र नियामक निकाय हुँदा प्रोटोकल अनुसार तयारी भए/नभएको विषयमा नियमित अनुगमन हुनु नसकेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे जिरो टु (कोटेश्वरबाट बौद्धतर्फ ) विमान उडेको २२ सेकेण्डमै बुध्द एयरको ह्यांगर नजिकैको जमिनमा बजारिएको थियो ।

“विमानस्थल कार्यालयका अधिकारीकाअनुसार टावरले दुर्घटना भएको संकेत दिने आर्लराम बजाएको १२ मिनेटपछि मात्रै दमकल आगो नियन्त्रण गर्ने स्थानमा पुगेको थियो”

पोखरातर्फ जान उडेको विमानले रनवेबाट बायाँतर्फ मोड्न खोजेको थियो । तर, तिव्र गतिमा विमान रनवेबाट १० मिटरको दुरीमा दायाँतर्फ बजारिन पुग्यो । तिव्र गतिमा रहेको विमान त्यहाँबाट पनि उछिटि्टएर रनवेबाट ४० मिटरको दुरीमा रहेको कन्टेनरमा टोक्कियो । विमान दुई टुक्रा भयो । क्याप्टेनको जीवितै उद्धार भयो । तर, अन्य यात्रुको जीवितै उद्धार हुन सकेन ।

विमानस्थल आफैंले बनाएको प्रोटोकलअनुसार तयारी भएको भए समयैमा उद्धार भएर मानवीय जोखिम कम हुन सक्थ्यो ।

विमानस्थल कार्यालयका अधिकारीकाअनुसार टावरले दुर्घटना भएको संकेत दिने आर्लराम बजाएको १२ मिनेटपछि मात्रै दमकल आगो नियन्त्रण गर्ने स्थानमा पुगेको थियो ।

विमान दुर्घटना भएको ९ मिनेटपछि प्रहरी घटनास्थल पुगेको थियो भने दुर्घटना भएको १९ मिनेटपछि क्याप्टेन एमआर शाक्यको जीवितै उद्धार गरिएको थियो । ढाडको शल्यक्रिया गरेका शाक्यको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रोटोकलअनुसार दुर्घटना भएको २ मिनेटभित्र फायर फाइटर घटना स्थलमा पुग्दै आगो निभाउन सुरु गर्नुपर्छ ।

कुनै पनि दुर्घटना देख्ने वित्तिकै टावरले साइरन बजाउने गर्छ । सँगै टावरले नै फायर बाच टावरलाई खबर गर्छ । बुधबार साइरन बजेपछि पनि आगो लागेको ठाउँसम्म पुग्दै १२ मिनेट लाग्यो । जसले गर्दा घाइते अवस्थामा अस्पताल पुगेका ३ जना बचाउन सकिएन ।

प्रोटोकलअनुसार फायर फाइटर आगो निभाउन सुरु गरेपछि सेना र प्रहरी पुग्ने यात्रुलाई निकाल्ने काम हुन्छ । तत्काल अस्पताल पुर्याउने अवस्थाका यात्रुलाई डाक्टरको सिफारिस अस्पताल लैजाने गरिन्छ ।

प्रोटोकलअनुसार फायर टिम विमान उडान र अवतरण हुँदा सधैं नै अलर्ट पोसिजनमा बस्नु पर्छ । आज भने ११ बजेर ११ मिनेट दुर्घटना भएपछि फायर समयमा पुग्न सकेनन् ।

विमानस्थलभित्र रहेका ३ वटा दमकलले आगो नियन्त्रणमा लिन सकेनन् । नेपाल आयल निगमको फम फाल्ने दमकल आगो नियन्त्रणमा लिन पर्याप्त भएन ।

रेस्क्यू एण्ड फाइर फाइटिङ डिभिजन अन्तर्गत फायर बाच टावर र विमानस्थलभित्रका अन्य पूर्वाधार प्रभावकारी नबनाएको परिणाम देशले भोगेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।