images

विश्व खेलकुदको ‘महाकुम्भ’ ओलम्पिक आजदेखि पेरिसमा सुरु हुँदै

काठमाडौं-विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको ३३औँ संस्करण आजदेखि फ्रान्सको पेरिसमा सुरु हुँदै छ ।

२ सय ६ राष्ट्रका १० हजार आठ सयभन्दा बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता अगस्त ११ सम्म चल्नेछ । यसपटक ओलम्पिकमा ३२ खेलका तीन सय २९ स्पर्धा समावेश गरिएको छ । अधिकांश खेल पेरिसमा आयोजना गरिने छ । केही खेल भने सेन्ट डेनिस, ले बोर्जेट, नान्तेरे, भर्साइल्सलगायतका छिमेकी सहरमा पनि खेलाइने छ । यसपटक ओलम्पिकमा रुस र बेलारुसको भने सहभागिता रहने छैन ।

ओलम्पिकको उद्घाटन समारोह सेन नदीमा हुनेछ जसलाई कम्तीमा पनि ३ लाख २० हजार दर्शकले प्रत्यक्ष हेर्नेछन् ।  उद्घाटन समारोहका क्रममा १ सय ५० किलोमिटर क्षेत्रको पेरिसको आकाशलाई ‘नो फ्लाई जोन’ घोषणा गरिनेछ ।

यसअघि पेरिसमा सन् १९०० र सन् १९२४ मा  पनि ओलम्पिक आयोजना भएको थियो । पेरिस ओलम्पिकको उद्घाटन समारोहअघि नै दुई खेल सुरु भइसकेका छन् । फुटबल र रग्बीको स्पर्धा भने जुलाई २४ तारिखमै सुरु हुनेछ । यी दुई खेलका प्रतिस्पर्धा लामो समयसम्म चल्ने भएकाले उद्घाटन समारोहअघि नै खेलाउन थालिएको हो ।

पेरिस ओलम्पिकमा ४५ हजार स्वयंसेवक खटाइने भएको छ । स्वयंसेवकहरु पेरिस ओलम्पिकको हरेक खेलस्थलमा उपस्थित रहने छन् । पेरिस ओलम्पिकका लागि ३५ वटा खेलस्थल निर्धारण गरिएको छ । त्यसमध्ये २४ वटा खेलस्थल पेरिसस्थित ओलम्पिक भिलेजभन्दा करिब १० किलोमिटर वरपर छन् ।