वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चरम लापरवाहीः दश गुणा बढी केमो दिएपछि बिरामीको मृत्यु

चितवन : अस्पतालमा बिरामीको उपचारमा लापरवाही हुने गुनासो बढिरहेको समयमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा चरम लापरवाही भएको घटना बाहिरिएको छ । लामो समय गुपचुप राखिएको घटना अहिले बाहिर आएको हो ।

लमजुङ्को दोर्दीका ५० वर्षिय भक्तराज गुरुङ्गको खुट्टाको छालाको क्यान्सरको उपचारका क्रममा आवश्यकभन्दा बढी केमो दिएपछि उनको मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले ३ दशमबल ४ मिलिग्राम केमो दिनु पर्नेमा ३४ मिलिग्राम केमो दिएपछि बिरामीको मृत्यु भएको स्वीकार्नुभयो । गएको असार १३ गते राती १०ः३८ बजे बिरामीको मृत्यु भएको हो । त्यस अघि बिरामीलाई मेडिकल वार्डमा तीनपटकसम्म सोही डोजको केमो दिएपछि केमोको डोज धान्न नसकेर बिरामी सिकिस्त भएका थिए ।

खुट्टाको छालाको क्यान्सर मेलानोमा भए पछि शल्यक्रिया गरिएको थियो । रोग फैलिएर खुट्टा मुनिको काछसम्म पुगेर गाँठागुठी देखिए पछि बायोप्सि गरेर क्यान्सर एकिन गरिएको थियो । सो पश्चात बिरामीलाई केमो दिईएको हो ।

बिरामीको उपचारमा लापरवाही भएको भन्दै उच्च दबाब पछि अस्पताल प्रशासनले दुई चिकित्सक सहित २३ जना नर्ससँग स्पष्टिकरण मागेको छ । सूचना अधिकारी महतोका अनुसार नर्स प्रभा तामाङ् र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ । अस्पतालका उपनिर्देशक डा. उमेश नेपाल, मेडिकल अंकोलोजी बिभागका प्रमुख डा. गुरुशरण शाह र नर्सिङ् प्रमुख अनिता देवकोटा रहेको छानबिन समिति बनाएको थियो । समितिले साउन ३ गते प्रतिवेदन बुझाएको महतोले जानकारी दिनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अध्ययन टोलीले आफ्नो प्रतिवेदन दिईसकेको बताउँदै प्रतिवेदनका आधारमा कारवाही अगाडी बढाईएको बताउनुभयो । निलम्बनदेखि भिन्न कारवाहीको लागि सिफारिस भएर आएको बताउँदै उहाँले प्रतिवेदनका आधारमा अस्पताल प्रशासनले काम गरिरहेको बताउनुभयो । अस्पतालमा पछिल्ला दिनहरुमा उपचारमा लापरवाही हुने गरेको गुनसो निकै आउने गरेको छ ।

क्यान्सर जस्तो संवेदनशील रोगको उपचारमा समेत गम्भीर प्रकृतिको लापरवाही हुनु आफैमा लज्जास्पद विषय हो । यस घटनामा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासकलाई हदैसम्मको कारवाही हुनुपर्ने सर्वसाधारणको माग रहेको छ ।