images
images

काँग्रेस र एमाले मिलेर सरकार बनाउन सहज छैन : माधव सापकोटा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले काँग्रेस र नेकपा एमालेबीच समीकरण बनेर सरकार गठन हुने सम्भावना नरहेको दाबी गरेका छन् । मङ्गलवार संसद्बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद सापकोटाले एमाले र काँग्रेसको समीकरण सम्भव नभएको बताएका हुन् ।

एमाले र कांग्रेसबीचमा समीकरण भइहाल्ने र नयाँ ढङ्गले वर्तमान समीकरण बदल्न सहज नरहेको सांसद सापकोटाको भनाइ छ । समाजवादी मोर्चा बनाएकोमा कोही पनि तर्सिन आवश्यक नरहेको उनले बताए । समाजवादी मोर्चा भनेको समाजवादका आधारस्तम्भ निर्माण गर्न निर्मित भएको पनि उनले दाबी गरे ।

‘हामीले हिजो जुन नेकपा बनायौँ, त्यो नेकपा रक्षा गर्न सक्नुपर्दथ्यो । त्यसको रक्षा हुन सकेन । त्यसको शिक्षा लिएर अहिलेका काम कारबाहीहरूलाई प्रभावकारी रूपमा सम्पादन गर्ने र समाजवादी आन्दोलनमा विकेन्द्रित हुन नदिने र सबै शक्तिहरूलाई सङ्गठित गर्ने उद्देश्यका साथ यो मोर्चा बनेको छ,’ उनले भने, ‘काँग्रेस एमालेबीच समीकरण हुन्छ भन्ने मलाई लाग्दैन । अहिले नै एमाले र कांग्रेसबीचमा समीकरण भइहाल्ने र उहाँहरूले नयाँ ढङ्गले यो समीकरण बदल्न त्यति सजिलो वातावरण र आधार छैन । यसमा कोही तर्सिन जरुरी छैन । समाजवादी मोर्चा भनेको समाजवादका आधारस्तम्भ निर्माण गर्न निर्मित हो ।’