images

पेरिस ओलम्पिकमा आज स्यान्टु र प्रिन्सको खेल

मनिता सोमबार सर्बियाली खेलाडीसँग भिड्ने

ललितपुर – पेरिस ओलम्पिकमा शनिबार दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। ३३ औँ गृष्मकालीन ओलम्पिकको औपचारिक उद्घाटन भएको भोलिपल्ट टेबल टेनिसका स्यान्टु श्रेष्ठ र ब्याटमिन्टनका प्रिन्स दाहालले प्रतिस्पर्धा गर्न लागेका हुन्।

प्रारम्भिक चरणमा स्यान्टुले सेनेगलका खेलाडी इब्राहिम डिएवसँग प्रतिस्पर्धा गर्नेछन्। पुरुष एकलमा भिड्ने स्यान्टुको खेल पेरिस एक्पो पोर्ट डे भर्सेल्समा साँझ साढे ७ बजे शुरु हुनेछ।

नेपाली टेबल टेनिसको इतिहासमा ओलम्पिक खेल्ने स्यान्टु पहिलो खेलाडी हुन्। उनले दक्षिण एसियाली छनोट चरण पार गर्दै ओलम्पिकमा स्थान बनाएका थिए।
छनोट चरण पार गरेर ओलम्पिक खेल्ने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन्।

पेरिस ओलम्पिकको कठिन समूहमा परेका ब्याडमिन्टन खेलाडी प्रिन्सले भने शनिबार विश्व नम्बर दुई वरीयता तथा दुईपटकका विश्व च्याम्पियन डेनमार्कका भिक्टोर एक्सेलसनसँग प्रतिस्पर्धा गर्दैछन्। खेल राति पौने १ बजे शुरु हुनेछ।

खेल आगामी अगष्ट ४ सम्म सञ्चालन हुनेछ।

यसअघि तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए। संगिनाले सन् २००४ को एथेन्स ओलम्पिक र दीपकले सन् २००८ को बेइजिङ ओलम्पिक खेलेका थिए ।

ब्याडमिन्टन खेलाडी प्रिन्स समूह ‘पी मा परेका छन्। पुरुष सिंगलतर्फ ३६ देशका ४१ खेलाडीबीच १३ वटा समूहमा रहेर प्रारम्भिक चरणमा प्रतिस्पर्धा हुनेछ।

प्रिन्सको दोस्रो वरियताका डेनमार्कका भिक्टोरसहित तीनपटक ओलम्पिक खेलिसकेका इजरायलका मिसा जिल्बरमन र आयरल्याण्डका नहत गुएनसँग प्रतिस्पर्धा हुनेछ।

सन् २०१२, २०१६ र २०२० को ओलम्पिक खेलेका मिसा युरोपियन च्याम्पियनसिपका पदकधारी हुन्। आइरिस गुएन पनि युरोपियन यू-१७ च्याम्पियनसिपका स्वर्ण विजेता हुन्।

राउणड रोबिनमा प्रतिस्पर्धा गरेपछि समूहका शीर्षस्थानमा रहने खेलाडी नकआउट पुग्नेछन्। प्रत्येक खेल ‘बेष्ट अफ थ्री’मा हुनेछ।

ब्याडमिन्टनको प्रतिस्पर्धा पेरिसस्थित पोर्टे डे ला चापेल एरिनामा जुलाई २७ देखि अगष्ट ५ सम्म हुनेछ। नेपाल ब्याडमिन्टन संघले समयमै प्रशिक्षकको नाम सिफारिस नगर्दा प्रिन्स पेरिस ओलम्पिकमा प्रशिक्षकविना नै पुगेका छन्।

मनिताले सर्बियाली खेलाडीसँग प्रतिस्पर्धा गर्ने 

कन्टिनेन्टर कोटामार्फत ओलम्पिकमा प्रतिस्पर्धा गर्न लागेकी नेपाली जुडो खेलाडी मनिताले पेरिस ओलम्पिकमा ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्दैछिन्।
मनिताले पहिलो चरणमा सर्बियाली खेलाडी मारिका पेरिसिकसँग प्रतिस्पर्धा गर्ने भएकी छिन्।

उनको खेल सोमबार च्याम्प-डे-मार्स एरेना म्याट १ मा हुनेछ। यो खेलमा विजयी भए उनले अन्तिम १६ मा स्थान पक्का गर्ने छिन्।

ओलम्पिकको उद्घाटन समारोहमा भएको मार्चपासमा टेबल टेनिसका स्यान्टु र  जुडोकी मनिताले संयुक्त रूपमा नेपालको झण्डा बोकेका थिए।

सुटिङकी सुस्मिता नेपालले पेरिस ओलम्पिकमा १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्। वाइल्ड कार्ड मार्फत स्थान बनाएकी उनले आमन्त्रण कोटामा स्थान बनाएकी हुन् ।

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा १० हजार मिटर दौडमा स्वर्ण जितेकी सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकमा महिला म्याराथनमा भाग लिँदैछिन्।

पौडीका एलेक्जेन्डर (एलेक्स) शाहले पेरिस ओलम्पिकमा १ मिटर फ्री स्टायलमा तथा डुवाना लामाले २०० मिटर फ्रिस्टाइलमा भाग लिनेछिन्।