कम्यूनिष्ट पार्टीहरुलाई मिल्न नदिन कतैबाट षड्यन्त्र भइरहेको आशंका लागेको छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीहरुलाई मिल्न नदिन कतैबाट षड्यन्त्र भइरहेको आशंका व्यक्त गरेका छन्।

पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूले कम्युनिष्ट एकताको प्रयास गर्दा असफल भएको बताए।

उनले पहिलो प्रयास असफल भएपछि अहिले पनि आफूले कम्युनिष्ट एकताको प्रयास फेरि अघि बढाए पनि सफल नभएको उनको भनाइ छ।

प्रचण्डले भने, ‘पहिलो प्रयास असफल भएपछि अहिले पनि मैले कम्युनिष्ट एकताको प्रयास अघि बढाएको थिएँ, तर सफल भएन।’

यस्तै उनले नेकपा एमालेभित्र अझै देशभक्तहरुको पंक्ति ठूलो रहेको र त्यसप्रति आफूलाई चिन्ता भएको बताएका छन्। उनले भने, ‘एमालेभित्र पनि ठूलो देशभक्तहरुको पंक्ति अझै छ। कम्युनिष्ट आन्दोलनप्रति ठूलो त्याग गरेका, योगदान गरेका मानिसहरु छन्। मेरो चिन्ता त्यो पंक्तिसँग हामी सबै सञ्चा कम्युनिष्ट क्रान्तिकारी भन्नेहरु कसरी जोडिने भन्नेबारेमा चिन्तनमनन गरिराख्नुपर्नेछ।’