images

प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय गर्न सुनुवाइ समितिको बैठक आज बस्दै

काठमाडौं-संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । आजको बैठकले प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे अनुमोदनको निर्णय गर्नेछ । बैठक बिहान साढे ११ बजे बोलाइएको छ।

गत असार २ गते संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा एक महिलाले आफूलाई प्रधानले यौन शोषण गरेको र दबाबमा मिलापत्र गरेको भन्दै उजुरी दिएकी थिइन् ।

समितिले उजुरीकर्तासँग र प्रधानसँग यस विषयमा छलफल गरेको थियो ।  समितिमा प्रधानले पीडित महिलासँग मिलापत्र गरेको स्वीकार गरेका थिए । प्रधानको अनुमोदनका विषयमा प्रमुख दलका सांसदहरुले आफ्नो शीर्ष नेतासँग पनि छलफल गरेका थिए।

नैतिक आचरणमाथि गम्भीर प्रश्न देखिएकाले प्रधानलाई अनुमोदन गर्न नहुनेभन्दै व्यापक आलोचना हुँदै आएको छ ।