चीनबाट आएकाे चार्टर विमान पोखरा विमानस्थलमा अवतरण

चीनको छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको चार्टर विमान पोखरा विमानस्थलमा अवतरण गरेको छ । चीनसँग सीमा जोडिएको संखुवासभा हुँदै नेपाल छिरेको जहाज आज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

१ सय ३० जना आउने भनिएको विमानमा कति जना आएका छन् खुलेको छैन । चीन भ्रमणमा रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित नेपालका सांसद, चिनियाँ पर्यटक र खेलाडी उक्त विमानमा पोखरा आएका छन् ।

अध्यक्ष तिमिल्सिना, ७ सांसदसहित ९ जना गत जेठ २७ गते काठमाडौंबाट चीन भ्रमणमा गएका थिए । उनीहरू त्यही विमानमा पोखरा आएका हुन् । विमान पोखरामा एक घण्टा होल्ड हुनेछ ।

त्यसपछि त्रिभुवन विमानस्थलमा अवतरण भई नियमित उडानमार्फत् चीनको छेन्दु फर्किने छ । गत पुस १७ गते सञ्चालनमा आएको विमानस्थलमा चीनको छेन्दु–तियान्फु विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान भएको हो ।

दक्षिण एसियामै पहिलोपटक पोखरामा असार ८ र ९ गते ‘नेपाल–चीन फ्रन्डसिप ड्रागन बोट फेस्टिभल’ हुँदैछ । त्यसमा सहभागी हुने चिनियाँ पर्यटक तथा खेलाडी चार्टर उडानबाट पोखरा आएका हुन् । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र चिनियाँ दूतावासको सहकार्यमा ड्रागन बोट फेस्टिभल हुन लागेको हो ।