श्रममन्त्रीसँग दुई देशका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १५ साउन : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डेनियल मेउलीले शिष्टाचार भेट गर्नुभएको छ ।

आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच आप्रवासनका सवाल र रोजगार सेवा केन्द्रको सबलीकरण गर्ने सम्बन्धमा छलफल भएको थियो । त्यस अवसरमा मन्त्री भण्डारीले नेपालले रोजगार सेवा केन्द्रलाई ‘रोजगारीको केन्द्र’ का रूपमा विकास गर्नका लागि सम्बन्धित विकास साझेदारसँगको सामूहिक छलफलबाट निष्कर्षमा पुग्नुपर्ने र आप्रवासनका सवालको सम्बोधन सरोकारवाला सबैसँगको सहकार्यमा गर्न चाहेको बताउनुभयो ।

यसैगरी आजै स्वीस सम्पर्क नेपालका देशीय निर्देशक सञ्जय कार्कीसहितको टोलीसँग आन्तरिक रोजगारी प्रवर्द्धनका लागि गर्न सकिने सहकार्यका विभिन्न विषयमा छलफल भएको थियो ।

आज नै मन्त्री भण्डारीसँग नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क, ताई यंगले शिष्टाचार भेट गर्नुभएको छ । भेटका अवसरमा गणतन्त्र कोरिया र नेपालबीच भएको इपिएस कोरियासम्बन्धी द्विपक्षीय समझदारी र कोरिया रिटर्नीको सीप क्षमता सदुपयोगलगायतका विषयमा छलफल भएको छ ।

भेटमा इपिएस कोरियाका सम्बन्धमा भएको द्विपक्षीय श्रम समझदारी अद्यावधिक गरी समसामयिक बनाउने, इपिएस कोरियासँग सम्बन्धित विषयवस्तुका बारेमा छलफल गरी सुझाव दिने गरी मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन भएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो । “प्राप्त सुझावका आधारमा अघि बढ्ने विषय र कोरियामा रहेका नेपाली कामदारलाई कोरियन कामदार सरह सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन आवश्यक पहल गर्ने विषयमा समेत छलफल भएको थियो”, उहाँले भन्नुभयो, “यसका साथै कोरिया जाने कामदारलाई आवश्यक सीप सिकाउने तालिम केन्द्र स्थापना र सुदृढीकरणमा सहयोगको अपेक्षासहित नेपाल फर्किएका कामदारले आफूले सिकेका सीपको उपयोग गर्ने वातावरण निर्माण गर्ने सम्बन्धमा सहकार्यका लागि छलफल भएको थियो ।”