images

प्रधानमन्त्री ओलीको विदेश भ्रमण थाइल्यान्डबाट, बिमस्टेक शिखर सम्मेलनमा भाग लिन भदौ तेस्रो साता जाने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कार्यकालको पहिलो विदेश भ्रमण थाइल्यान्डबाट सुरु हुने भएको छ ।

प्रधानमन्त्री ओली भदौ तेस्रो साता थाइल्यान्डको बैंककमा आयोजना हुने बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन जान लागेका हुन् ।

बैंककमा सेप्टेम्बर ३ र ४ (भदौ १८ र १९) मा बिमस्टेकको छैटौँ शिखर सम्मेलन आयोजना हुँदैछ । परराष्ट्र मन्त्रालयका अनुसार सो कार्यक्रममा जान प्रधानमन्त्री कार्यालयबाट प्राप्त निर्देशन अनुसार भ्रमणको गृहकार्य भइरहेको छ ।
‘हामीले भ्रमणको तयारी थालिसकेका छौँ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने । सन् १९९७ मा स्थापित बिमस्टेकमा नेपाल सन् २००४ मा सदस्य बनेको थियो ।

यो क्षेत्रीय संगठनमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । पूर्वी एशियाको क्षेत्रीय सहयोगका लागि भारतीय पहलमा स्थापित बिमस्टेक दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विकल्पका रूपमा रहेको जस्तो देखिन्छ । यसमा सार्कका सदस्य पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स सामेल छैनन् ।

प्रधानमन्त्री ओलीको संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा पनि भ्रमणको तयारी तीव्र भइरहेको छ । १० सेप्टेम्बरदेखि सुरु हुने महासभामा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डलको गृहकार्य भइरहेको छ ।

यस पटक सेप्टेम्बर २३ र २४ मा राष्ट्रसंघले ‘समिट अफ द फ्युचर’ समेत आयोजना गर्ने भएको छ । यस समिटमा जलवायु परिवर्तन, दिगो विकास लक्ष्य प्राप्ति र समकालीन चुनौतीहरूमा छलफल हुने छ ।