images
images

एमालेका लागि ढोका खुला छ’:कांग्रेस समेतको सहमतिमा समाजवादी मोर्चा बनेको हो : प्रधानमन्त्री

‘एमालेका लागि ढोका खुला छ’

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस समेतको सहमतिमा प्रगतिशील विचार राख्नेहरु मिलेर समाजवादी मोर्चा निर्माण गरेको बताएका छन् । उनले यस्तो मोर्चामा एमालेलाई पनि ढोका खुला रहेको बताए ।

कान्तिपुर टिभीको साप्ताहिक कार्यक्रम टफटकमा प्रधानसम्पादक दिलभूषण पाठकसँग भने-‘यो मोर्चाको अवधारणाभित्र आउने हो भने एमालेलाई पनि खुला छ ।’ उनले तत्कालै एमाले आउने संभावनाचाहिँ नरहेको बताए । ‘हामीले मोर्चा घोषणा गर्दै गर्दा यो कसैका विरुद्ध होइन है भनेका छौं । लेफ्टहरू, परिवर्तनका पक्षधरहरू, बाह्रबुँदे समझदारीकर्ताहरू, शान्ति सम्झौता र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर कसैका पनि विरुद्ध होइन भनेका छौं,’ प्रधानमन्त्री दाहालले भने ।

उनले उपेन्द्र यादवको अनिच्छाका कारण बाबुराम भट्टराई तत्काल मोर्चामा सहभागी नभएको जानकारी दिए । ‘बाबुरामजी र हामी पार्टी नै एउटै बनाउने भन्ने उद्देश्यका साथ चुनाव एउटै चिह्नबाट लड्ने अनि पार्टी पनि एउटै बनाउने, नेकपा समाजवादी केन्द्रमा जाने भन्ने सैद्धान्तिक सहमतिका आधारमा अगाडि बढेको हो । अहिले पनि बाबुरामजीसँग पार्टी एकताको सहमति भंग भएको छैन । त्यसकारण, मोर्चाका कतिपय साथीहरुले तपाईं त एउटै पार्टी हो नि, चुनाव चिह्न एउटै छ, फेरि मोर्चामा दुईवटा किन हुनुपर्‍यो भन्ने तर्क पनि राख्नुभएको हुनाले यो अवस्था आएको हो,’ उनले भने ।

उपेन्द्र यादवबाट भर्खरै बाहिरिएकाले बाबुराम भट्टराईलाई असहज भएको उनले उल्लेख गरे । ‘अब, भर्खरै उहाँ जनता समाजवादी पार्टीबाट अलग हुनुभएको हो । उहाँ जनता समाजवादी पार्टीको नेता हुनुहुन्थ्यो । बढो तीतोसँग उपेन्द्रजी र बाबुरामजीको सम्बन्धविच्छेद भयो । त्यो भर्खरै सम्बन्धविच्छेद भएका हुनाले उपेन्द्रजीलाई अलिकति बढी नै असहज भयो । फेरि एउटै मोर्चामा बस्न निकै असहज भयो । मैले चाहिँ बाबुरामजीलाई राखौं, भोलि पार्टी एकता भएपछि त एकता भई नै हाल्छ भनेको थिएँ,’ प्रधानमन्त्री दाहालले भने । उनले विचार मिल्नेहरुको एकताको बारेमा अहिले कांग्रेस नेताहरुले पनि आग्रह गरेको उनले उल्लेख गरेका छन् । कान्तिपुर