images
images

मर्दी बेसक्याम्पमा भेटिएको मानव अवशेष स्वीडिस नागरिकको हुनसक्ने आशंका

पोखरा –कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित प्रख्यात मर्दी हिमाल आधार शिविर (बेसक्याम्प) मा फेला परेको मानव अवशेष स्वीडिस नागरिकको हुन सक्ने आशङ्का गरिएको छ।

भेटिएको सो अवशेष गत पुस १३ गते मर्दी पदयात्राका क्रममा हाइक्याम्पबाट हराएका स्वीडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग हुनसक्ने आशङ्का गरिएको छ। पदमार्गको हाइ क्याम्पबाट मर्दी आधार शिविरतर्फ जानेक्रममा हराएका मिचलको त्यसबेला खोजी गरिए पनि फेला पर्न सकेका थिएनन्।

माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले शुक्रवार साँझ मानव अवशेष भेटिएको बारेमा शनिवार जानकारी गराएको बताए।

‘स्थानीयले अवशेष देखेर खबर गर्नुभएको छ। भौगोलिक रूपमा अत्यन्त विकट भएकाले कसरी ल्याउने भन्नेबारेमा प्रहरी प्रशासन र गाउँपालिकासँग छलफल गरी राखेका छौँ’, वडाध्यक्ष क्षेत्रीले भने। अवशेषसँगै एउटा आइफोनसमेत भेटिएको उनले बताए। रासस