images
images

सुदूरपश्चिममा कांग्रेसका शाह मुख्यमन्त्री बन्दै, आजै सरकारलाई पूर्णता दिने तयारी

काठमाडौं –सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । शुक्रवार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा लिएपछि प्रदेश प्रमुख नजिर मियाँले आज साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका थिए ।

मुख्यमन्त्रीमा कांग्रेसबाट तीन जनाको दाबी रहे पनि संसदीय दलका नेता कमलबहादुर शाह नै मुख्यमन्त्री बन्ने सम्भावना बढी रहेको स्रोतले बतायो। अरू दुई आकाङ्क्षी प्रकाश देउवा र बहादुर सिंह थापा पनि शाहलाई मुख्यमन्त्री बनाउन सहमत भइसकेको बताइन्छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शाहलाई मुख्यमन्त्री बनाउने गरी तयारी अगाडि बढाउन निर्देशन दिइसकेका छन्। कांग्रेसले आज ११ बजेका लागि बोलाएको संसदीय दलको बैठक ठोस निर्णय गर्ने तयारी गरेको छ।

बैठकले मन्त्रीहरूको नाम पनि टुङ्गो लगाउने छ । कांग्रेसबाट नयाँ अनुहार मन्त्रीमा समावेश हुने सम्भावना रहेको छ ।

यता, एमालेले पनि सरकारमा कसलाई पठाउने भन्ने कुनै निर्णय गरेको छैन ।  पुराना तीन जना मन्त्रीमध्ये केही दोहोरिने र केही नदोहोरिने सम्भावना छ।

नागरिक उन्मुक्ति पार्टीले पनि आफ्नो भागमा पर्ने मन्त्रीको नाम टुङ्गो लगाइसकेको छ । नाउपाबाट लक्ष्मण किशोर चौधरी मन्त्री बन्ने छन् ।

आज पाँच बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्ने र आजै मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । यी दुई दल मात्रै मिल्दा पनि बहुमत पुग्छ । तर, नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाइएको छ ।