टान नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौँ, २० साउन-पदयात्रा (ट्रेकिङ) व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनमा नेतृत्वका त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।

टानको आगामी भदौँ १७ गते हुने वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा पर्यटन व्यवसायी रामसरण थपलिया, राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डेबीच प्रतिस्पर्धा हुने भएको हो ।साधारणसभाको एक महिना अघिदेखि नै प्रत्यासीहरू उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार र भेटघाटमा सक्रिय भएका छन् ।टानका महासचिव विनोद सापकोटाले नेतृत्व सर्वसम्मत चयनका लागि छलफल भइरहेको भन्दै सहमति नभए निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन हुने बताउनुभयो । उहाँकानुसार टानमा करिब दुई हजार पदयात्री व्यवसायी आवद्ध छन् ।

अध्यक्षका प्रत्यासी थपलिया तीन दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष हाल नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्य हुनुहुन्छ । आकाश ट्रेक्स एन्ड एक्सीडिसन प्रालिका प्रबन्धनिर्देशक थपलियाले नेपाल निर्यात परिसङ्घको निवर्तमान उपाध्यक्षको जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ । टान नेतृत्वमा पुगेको खण्डमा नीतिगत सुधारमा विशेष ध्यान दिने उहाँले बताउनुभयो । “टानमा नीतिगत कुराको समस्या छ, पुरानो पर्यटन ऐन परिमार्जनका लागि पहल गर्नुपर्नेछ”, थपलियाले भन्नुभयो, “आफू कानुन क्षेत्रमा पनि आवद्ध भएकोले नीतिगत सुधारमा विशेष ध्यान दिने छु ।

” यस्तै, अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटा विगत २० वर्षदेखि पर्यटनमा सक्रिय हुनुहुन्छ ।नेपाल पर्यटन बोर्डको पूर्वसञ्चालक समिति सदस्य सापकोटा आउटडोर हिमालयन ट्रेक्सका प्रबन्ध निर्देशक हुनुहुन्छ । पदयात्रा व्यवसायको संरक्षण र साहसिक पर्यटन प्रवर्दनमा आफ्नो भूमिका केन्द्रीत हुने उहाँले बताउनुभयो । “पदयात्रा पर्यटन व्यवसाय समस्याग्रस्त छ, स्थानीय निकायले विकास निर्माणको नाममा पदमार्गको अस्तित्व जोखिममा परेको छ । त्यसैले पदमार्ग संरक्षण मेरो पहिलो प्राथमिकता हुन्छ ।” उहाँले स्थानीय तहसँग समन्वय गरेर पदमार्गको दिगो विकासका लागि पहल गर्ने, रोजगारी सिर्जना, मजदुरका समस्या सम्बोधनका लागि ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पाठ्यक्रम मै पदयात्रा पर्यटनलाई समेटेर साहसिक पर्यटनको सम्भाव्य क्षेत्रमा सचेतना अभिवृद्धि गर्न पहल गर्ने सापकोटाको भनाइ छ ।

अध्यक्ष पदका अर्का प्रत्यासी सागर पाण्डेले पनि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।टानको पूर्वमहासचिवसमेत रहनुभएका पाण्डेले संस्थागत सुधार, पर्यटन मजदुरको कल्याणकारी कोष स्थापना, गन्तव्य प्रवर्द्धनलगायत विषयलाई प्राथमिकता दिने उहाँको योजना छ । टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ ।