प्राधिकरणको सञ्चालक समितिमा हटाइएका दुई जनाको ठाउँमा पूर्वसचिव कार्की र महेन्द्र गुरुङ नियुक्त

काठमाडौं– नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा पूर्वसचिव देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन्।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले आइतबारदेखि लागु हुने गरी कपिल आचार्य तथा भक्तबहादुर पुनलाई हटाएर कार्की र गुरुङलाई  नियुक्त गरेको हो । देवेन्द्र कार्की ऊर्जा मन्त्रालयबाट सचिव भएर रिटार्यड भएका कर्मचारी हुन् भने गुरुङ सहसचिवबाट रिटार्यड हुन्।

कार्की कांग्रेस र गुरुङ एमालेको कोटाबाट नियुक्त भएका हुन्। उद्योगमा बिजुली लाइन जोड्ने निर्णयविरुद्ध नोट अफ डिसेन्ट राख्ने दुई सञ्चालक आचार्य र पुनलाई यसअघि नै सरकारले स्पष्टीकरण सोधेको थियो।

उनीहरुले यो निर्णयले प्राधिकरणको बक्यौता उठ्नुको साटो थप गिजोलिने भन्दै नोट अफ डिसेन्ट लेखेका थिए। साउन पहिलो साता बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो।

सञ्चालक समितिको निर्णयविपरीत कार्य गरेको भन्दै उनीहरुलाई साउन १५ गतेसम्मको अल्टिमेटम दिँदै स्पष्टीकरण सोधिएको थियो। चित्तबुझ्दो जवाफ नआएपछि ऊर्जा मन्त्रालयले उनीहरुलाई २० गते आइतबारदेखि लागु हुने गरी समितिबाट हटाउने निर्णय गरेको हो।