images

प्रभु बैंकमा १ करोड १७ लाख अपचलन : बैंक भन्छ- रसिद, स्टेटमेन्ट र ब्यालेन्स सर्टिफिकेट नै नक्कली

विराटनगर – प्रभु बैंक बिर्तामोड शाखामा ग्राहकको १ करोड १७ लाख रुपैयाँ अपचलन गरेको विषयमा बैंकद्वारा गठित छानबिन समितिले आधिकारिक च्यानलबाट पैसा जम्मा भएको नदेखिएको जनाएको छ ।

बैंकका कोशी प्रदेश प्रमुख बद्रीबहादुर कट्टुवालको संयोजकत्वमा गठन भएको समितिले मन्जुकुमारी नेपालले जम्मा गरेको मुद्दती रसिद, बैंक स्टेटमेन्ट र ब्यालेन्स सर्टिफिकेट समेत नक्कली भएको जनाएको छ ।

समितिले मन्जुकुमारी नेपालले आधिकारिक रूपमा आफ्नो बैंकमा रकम जम्मा नगरेको प्रभु बैंकले स्पष्ट पारेको छ ।

छानबिन समितिका संयोजक तथा बैंकका कोशी प्रदेश प्रमुख बद्रीकुमार कटवालले प्रेस विज्ञप्ति जारी गरी आन्तरिक छानबिन गर्दा उक्त मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको भेटिएको बताएका छन् ।
उनले सो सम्बन्धमा थप छानबिन भइरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषीउपर कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाई सकिएको बताएका छन् ।

आवश्यक छानबिन तथा प्रचलित कानुनबमोजिमको कारबाईपश्चात् उक्त घटनाको सत्य, तथ्य र वास्तविकता पत्ता लागेर दोषीउपर ठहरे बमोजिमको कारबाही हुने नै छ भन्नेमा बैंक विश्वस्त रहेको उनले उल्लेख गरेका छन् ।

बिर्तामोड–५ स्थित मम फ्याक्ट्रीका सञ्चालकसमेत रहेकी नेपालका श्रीमान् टीकाराम नेतीले प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नो १ करोड १७ लाख रुपैयाँ गायब गरिएको दाबी गरेका थिए ।

उनले आफ्नी श्रीमती मन्जुकुमारी नेपालले पटक पटक फरक फरक मितिमा प्रभु बैंकको बिर्तामोड शाखामा १ करोड १९ लाख रुपैयाँ फिक्स्ड डिपोजिट गरेकोमा खातामा २ लाख मात्र जम्मा देखिएको पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए ।

नेतीले बैंकका मार्केटिङ म्यानेजर चन्द्रगढी बस्ने प्रमोद सिटौलाले आफूले जम्मा गरेको रकम नियतवश हिनामिना गरेको दाबी गरेका थिए । सिटौला फरार रहेका छन् ।