काठमाडौँ, २१ साउन – राजनीतिक अस्थिरताको नकारात्मक असर मुलुकको अर्थतन्त्रमा देखिएको तथ्य कसैबाट लुकेको छैन । पटकपटक भएका सरकार परिवर्तनका कारण विकास र समृद्धिका मुद्दा सधैँ ओझेलमा रहे । अस्थिर राजनीतिले मुलुकको समग्र विकास एवं समृद्धिमा कसरी असर गरिरहेको छ र त्यसको मूल्य हामीले चुकाइरहेका छौँ भन्ने उदाहरणका रुपमा चालु आर्थिक वर्षको बजेटलाई लिन सकिन्छ । बजेटका सिद्धान्त र प्राथमिकता एउटा अर्थमन्त्रीले र वार्षिक बजेट अर्कै अर्थमन्त्रीले ल्याए । बजेट कार्यान्वयन गर्ने समयमा पुनः सरकार परिवर्तन भयो र मुलुकको अर्थतन्त्रको बागडोर सम्हाल्ने जिम्मा अहिलेको अर्थमन्त्रीको काँधमा आएको छ ।
प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहितका दलहरुको गठबन्धनमा नयाँ सरकार बनेपछि भने राजनीतिक स्थिरता कायम हुने अपेक्षा गरिएको छ । कोभिड महामारीपछि सुस्ताएको मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किन थालेको छ । यसै सन्दर्भमा मुलुकको विद्यमान अर्थराजनीतिक अवस्था, चुनौती, समाधानका लागि सरकारले गरिरहेका प्रयास र आगामी योजनाबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललसँग राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाताद्वय रमेश लम्साल र हेमन्त जोशीले गरेको कुराकानीको सम्पादित अंश ।
मुलुकको समग्र अर्थतन्त्रलाई यहाँले कसरी हेर्नुभएको छ ? अहिलेको अवस्था के हो ? समस्या कहाँ छ ?
– नेपाली अर्थतन्त्र अहिले दबाबमा छ । कतिपय आर्थिक सूचकहरु नकारात्मक छन् । समग्र मागमा न्यूनता आएको छ । राष्ट्रिय उत्पादन घटिरहेको छ । त्यसको प्रभाव रोजगारीमा परेको छ । राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेको छैन । पुँजीगत खर्च सन्तोषजनक ढङ्गले गर्न सकिरहेका छैनौँ । समग्रतामा भन्दा नेपाली अर्थतन्त्र अहिले दबाबमा छ । यो अवस्थाबाट मुलुकलाई बाहिर निकालेर अर्थतन्त्रलाई चलायमान गर्न जरुरी छ र अर्थतन्त्रमा जे जति समस्या देखिएका छन्, ती प्रत्येक समस्यामा प्रवेश गरेर समाधान खोज्दै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता हो । शिथिल अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनु अहिलेको मुख्य चुनौती हो । यसका निम्ती अर्थतन्त्रका सबै संवाहक क्षेत्रलाई त्यहाँ रहेको समस्यामा प्रवेश गरेर समाधान खोज्न हामी केन्द्रित हुनुपर्छ ।
निजी क्षेत्र अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बा हो । सरकारले निजी क्षेत्रसँग कसरी सहकार्य र समन्वय गर्न खोजिरहेको छ ? आर्थिक मन्दिको यो समयमा आम नागरिकको मनोबल कसरी उकास्ने ? सरकारका योजना के छन् ?
–निजी क्षेत्र हाम्रो अर्थतन्त्रको महत्वपूर्ण आधार हो । निजी क्षेत्रको मनोबल बढाउनु, उत्पादनका निम्ति उत्प्रेरित गर्नु र समग्र अर्थतन्त्रलाई चलायमान बनाउनु यतिबेला महत्वपूर्ण प्राथमिकताको विषय हो । मैले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि लगातार निजी क्षेत्रसँग नियमित संवादमा छु । उहाँहरुले भोगिरहेका समस्या के हुन्, समस्या समाधानका लागि निजी क्षेत्रका अपेक्षा के छन् र ती अपेक्षाहरु पूरा गर्न सम्भव छन् वा छैनन् भन्ने कोणबाट हामी नियमित संवाद गरिरहेका छौँ । क्रमशः समाधानका प्रयासहरु अगाडि बढेका छन् ।
नेपाल राष्ट्र बैङ्कले केही दिनअघि चालु आवको मौैद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिले अर्थतन्त्रसँग सम्बन्धित मौद्रिक क्षेत्रका समस्या समाधानका निम्ती धेरै हदसम्म भूमिका निर्वाह गरेको छ । समग्रतामा निजी क्षेत्रलाई भरोसायोग्य अभिभावकका रुपमा सरकार छ भन्ने सन्देश दिन चाहन्छु । अहिलेको प्रतिनिधिसभाबाट बन्नसक्ने बलियो र स्थिर सरकार यही हो । लामो इतिहास भएका र व्यवस्था बदल्न योगदान गरेका दुई ठूला दल मिलेर सरकार बनाएका छन् । राणाशासन, पञ्चायत र राजतन्त्र अन्त्य गर्नका लागि सङ्घर्ष गरेको दुई पुराना दलहरु नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) अहिले सरकारमा छन् । यो सरकारले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा प्रभाव पार्ने अवस्था अब हामी आउँन दिँदैनौँ भन्ने सन्देश दिइरहेको छ । निजी क्षेत्रलाई उत्साहित भएर उत्पादनमा, लगानीमा केन्द्रित हुनका निम्ती सरकारले प्रोत्साहित गर्छ । यो सरकार निजी क्षेत्रलाई अभिभावकीय भूमिका निर्वाह गर्दैछ भन्ने अनुभूति दिलाउन चाहन्छौँ ।
चालु आवको बजेट संसद्मा पेस भएसँगै विनियोजन कुशलताको विषय संसद् र बाहिरसमेत निकै पेचिलोसँग उठाइयो । सङ्घीयतालाई नै कमजोर पार्नेगरी स–साना आयोजनाका लागि पनि केन्द्र सरकारबाट बजेट छुट्याइयो, पहुँचका आधारमा बजेट बाँडियो भन्नेजस्ता गम्भीर प्रश्न संसद्मा उठाइएका छन् । विनियोजनमा कुशलता नदेखिएको बजेट कार्यान्वयन कतिको चुनौतीपूर्ण छ ?
–बजेट निर्माणमा भिन्न प्रकारको अभ्यास यसपटक हुन गयो । एउटा सरकारको अर्थमन्त्रीले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभयो, अर्को सरकारको अर्थमन्त्रीले बजेट प्रस्तुत भयो र तेस्रो भिन्नै सरकारको अर्थमन्त्रीका रुपमा बजेट कार्यान्वयन गर्ने बेला म आएको छु । यो राजनीतिक अस्थिरताको परिणाम थियो । यति छोटो अवधिमा फरकफरक सरकार, फरकफरक अर्थमन्त्री र तिनका फरकफरक भूमिका जुन ढङ्गले प्रकट भए, त्यो सबै राजनीतिक अस्थिरताका कारण सिर्जना भएको परिस्थिति थियो । अहिले हामीले मुलुकलाई राजनीतिक स्थिरतातर्फ डो¥याउन सकेका छौँ । अहिले सरकारमा रहेका राजनीतिक दलहरुबीच जुन समीकरण बनेको छ र सहयात्रा अघि बढेको छ, यो सहयात्रा आउने निर्वाचनसम्म निरन्तर अगाडि बढ्छ । सत्ता गठबन्धनमा रहेका दलहरुबीच बनेको सहमतिअनुसार हामी आउँदो निर्वाचनसम्म सँगै अघि बढ्छौँ । यसकारण राजनीतिक स्थिरता कायम भएको छ भन्ने सन्देश अहिले गएको छ ।
यस स्थितिमा बजेटमा विनियोजन कुशलता कति देखियो वा देखिएन भन्नेबारे म टिप्पणी गर्न चाहन्न । किनभने हाम्रो विनियोजन कुशलताबारे आममानिस, संसद्, अर्थविद् विकासविद् सबैतिर चर्चा भइरहेकै छ । विनियोजन कुशलताका दृष्टिकोणले हामीहरु उत्कृष्ट साबित हुन सकेका छैनौँ भन्ने स्पष्ट छ । चालु आवको बजेटमा पनि विनियोजन कुशलता राम्रोसँग प्रदर्शित हुन सकेको छैन । स्थानीय तह र प्रदेशबाट कार्यान्वयन हुने प्रकृतिका योजना तथा कार्यक्रममा सङ्घ सरकारबाटै बजेटले समेट्ने स्थिति देखिएका छन् । आवश्यक पूर्वतयारी र अध्ययन नभएका योजनामा बजेट हालिएको छ । हामीले तीन तहको सरकारको अभ्यास गरिरहेको छौँ र सङ्घीय सरकारका निश्चित अधिकार, दायित्व, कर्तव्यसँगै सीमाहरु पनि छन् ।
त्यस्तै, प्रदेश र स्थानीय सरकारका पनि निश्चित सीमाहरु छन् । ती सीमाहरुभित्र रहेर कार्यसम्पादन गर्नुपर्छ भन्ने मलाई लाग्दछ । बजेट बनाउँदा पनि त्यसप्रकारको विनियोजन कौशल हामीले प्रदर्शन गर्न सक्नुपर्छ । विनियोजन कौशलका दृष्टिकोणले हामीहरु चुकिरहेका छौँ । अहिले हामी बजेट कार्यान्वयनको चरणमा आइसकेका छाैँ । बजेट कार्यान्वयन गर्दा हाम्रो ध्यान सीमित स्रोतसाधनलाई परिचालन गरेर अधिकतम नतिजामुखी कसरी बन्न सकिन्छ भन्नेतर्फ जानुपर्छ । बजेटले समेटेको राष्ट्रिय प्राथमिकताका, राष्ट्रिय गौरव र महत्वका र राम्रो प्रतिफल दिने आयोजनालाई चाँडोभन्दा चाँडो सम्पन्न गर्नेमा कुरामा सरकारको ध्यान केन्द्रित गर्नुपर्नेछ । निर्माण थालनी भइसकेका आयोजनालाई जतिसक्दो चाँडो सम्पन्न गर्ने कुरा यो सरकारको पहिलो प्राथमिकतामा पर्छ । नयाँ योजना/कार्यक्रम सुरु गर्ने भन्ने आफ्नो ठाउँमा छँदैछ, त्योभन्दा पनि अहिले सुरु भइसकेका योजना सम्पन्न गर्नेतर्फ सरकारको ध्यान केन्द्रित हुन्छ ।
आयोजना सुरु हुने तर तोकिएको लागत र समयमा सम्पन्न हुँदैनन् भन्ने आम गुनासो छ र यो यथार्थ पनि हो । त्यसकारण अब हामी सुरु भइसकेका आयोजनालाई सम्पन्न गर्नतर्फ लाग्छाँै । त्यसमा पनि राष्ट्रिय गौरव, प्राथमिकता तथा महत्वका र राम्रो प्रतिफल दिने आयोजनालाई निर्माण सम्पन्न गर्ने विषय प्राथमिकतामा रहन्छ । हाम्रो स्रोतलाई पनि हामी त्यही ढङ्गले परिचालन गर्छौं । विनियोजन कुशलतामा देखिएका कमजोरीहरु हामी यो तरिका र माध्यामबाट दुरुस्त गर्ने कोसिस गर्छौं ।
बजेट विनियोजन यथार्थपरक हुन नसकेको, विकास परियोजनाहरु समयमा सम्पन्न नहुँदा लागत बढ्दै गएको, स्रोत सुनिश्चित गरिएका आयोजनाका लागि न्यून बजेट प्रस्ताव गर्ने र नयाँ आयोजना थप बजेट प्रस्ताव गर्ने प्रवृत्ति छ । यी समस्या समाधानका लागि सरकारले कसरी काम गर्छ ?
– कस्ता आयोजना तथा कार्यक्रममा स्रोत सुनिश्चित गर्ने वा नगर्ने, किन गर्ने वा नगर्ने भन्ने बीचमा एउटा स्पष्ट दृष्टिकोण लिएर अगाडि जानुपर्दछ । एक आवमा सम्पन्न गर्न नसकिने तर आयोजना निर्माण गर्नैपर्ने अवस्थामा हामी बहुवर्षिक आयोजनाका रुपमा अगाडि बढाउँछाँै । त्यस्ता बहुवर्षीय प्रकृतिका आयोजनामा स्रोत छुट्याउँदै गर्दा हामीले के कुरामा ध्यान दिनुपर्छ भने त्यो योजना वा कार्यक्रम हाम्रा लागि आवश्यक हुनसक्छ तर त्यो हाम्रो सामथ्र्यले भ्याउँछ वा भ्याउँदैन भनेर हेर्नुपर्छ । हामी असीमित सङ्ख्यामा बहुवर्षीय आयोजनामा स्रोत सुनिश्चित गर्दै ठूलो सूची तयार गर्ने तर स्रोतको प्रबन्ध गर्न नसकेर कार्यान्वयनमा जान नसक्ने अवस्थामा छाँै । विगतमा देखापर्ने गरेको यो दुःखद स्थितिलाई अब अन्त्य गर्नुपर्छ । त्यसकारण हामी आँखा चिम्लेर स्रोत सुनिश्चित गर्द हिँड्ने अभ्यासमा हामी जानु हुँदैन । पर्याप्त अध्ययन भएका, राम्रो प्रतिफल दिने, राष्ट्रिय महत्व र प्राथमिकताका आयोजनाहरुमा राज्यको सामथ्र्यभित्र रहेर स्रोत विनियोजन हुने विधितर्फ जानुपर्छ । स्रोतको ख्याल नगरी र आयोजनाको महत्व तथा प्राथमिकतालाई विश्लेषण नगरी स्रोत सुनिश्चितता गर्दै जाने कुराले हाम्रो सीमित स्रोतको सही सदुपयोग हुन सक्दैन । हाम्रो स्रोतको सीमालाई ख्याल गर्दै सीमित स्रोतलाई अधिकतम प्रतिफल दिनेगरी परिचालन गर्नुपर्छ । त्यो प्रकारको विनियोजन कौशलता हामीले प्रदर्शन गर्नुपर्छ ।
अर्थतन्त्र सुधारका लागि बजेटमा राम्रा योजना र कार्यक्रमका बाबजुद पनि कार्यान्वयनमा चुनौती छन् । चालु आवको बजेट कार्यान्वयनमा कस्ता चुनौती देख्नुभएको छ ?
– चालु आवको बजेट कार्यान्वयनका लागि गरिएको स्रोतको प्रबन्ध र व्यवस्थापन हाम्रालाई चुनौती हो । गत आवमा हामीले गरेको राजस्वको सुरु अनुमान, संशोधित अनुमान र वास्तविक प्राप्तिका बीचमा ठूलो खाडल छ । गत आवमा प्राप्त भएको यथार्थ राजस्वको तुलनामा चालु आवका लागि राखिएको राजस्व वृद्धिदरको लक्ष्य करिब ३० प्रतिशत हाराहारी छ । राजस्वको यो लक्ष्य पूरा गर्न त्यति सजिलो छैन । त्यसका लागि धेरै ठूलो मेहनत गर्नुपर्नेछ । राजस्व सङ्कलनको लक्ष्य निकै महत्वकाङ्क्षी र ठूलो छ । यसमा अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिस्थितिहरुलाई पनि हेर्नुपर्ने हुन्छ । हामीले विगतमा गरेका करका दरहरुको परिमार्जनको विश्लेषण पनि गर्नुपर्ने आवश्यकता देखेको छु । सँगसँगै राजस्व प्रशासनको प्रभावकारी परिचालन पनि आवश्यक छ । लक्ष्यअनुसार राजस्व उठाउन हामी कहाँनेर चुक्यौँ भनेर हेर्नुपर्नेछ । कहाँ चुहावट भएको छ भनेर खोज्नुपर्नेछ । त्यसलाई नियन्त्रण गर्ने कुरामा ध्यान पुर्याउनुपर्नेछ । आन्तरिक उत्पादनलाई बढावा दिएर राजस्वको लक्ष्य हासिल गर्नतर्फ लाग्नुपर्नेछ ।
पछिल्लो समय विश्वभर नै अन्तर्राष्ट्रिय सहयोग परिचालनमा सङ्कुचन आएको छ । अन्तर्राष्ट्रिय सहयोगलाई हामीले आफ्नो आवश्यकता र प्राथमिकताका आधारमा स्वीकार गर्नुपर्ने हुन्छ र त्यसका लागि हाम्रो सामथ्र्य विकास गर्दै जानुपर्ने हुन्छ । यस अर्थमा हामीले आफ्नो सामथ्र्य बढाउँदै जाने र अन्तर्राष्ट्रिय सहयोगको दायरा विस्तार गर्दै जानुपर्ने चुनौती हाम्रासामु छ । अर्को कुरा भनेको हाम्रो साधारण खर्च र अनिवार्य दायित्वमा ठूलो रकम विनियोजन गर्नुपर्ने अवस्था छ । आन्तरिक राजस्वले साधारण खर्च धान्न हम्मे पर्ने स्थितिमा हामी आइपुगेका छौँ । सार्वजनिक ऋण र वित्तीय व्यवस्थातर्फको दायित्व निरन्तर बढ्दो छ । पुँजीगत खर्चतर्फ भौतिक पूर्वाधार र विकास निर्माणका योजना तथा कार्यक्रममा पर्याप्त बजेट व्यवस्था गर्न सकसपूर्ण हुँदै गएको छ ।
हाम्रा योजना तथा कार्यक्रमहरुका निम्ति पर्याप्त स्रोतको प्रबन्ध गर्नुपर्ने अर्को चुनौती छ । स्रोतको प्रबन्ध गरिसकेपछि पनि ती योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुने वातावारण निर्माण गर्नुपर्नेछ । अध्ययन नै नभएका र पूर्वतयारी नसकिएका कतिपय आयोजना पनि बजेटमा परेका छन् । तिनीहरुको कार्यान्वयन कसरी हुन्छ भनेर पनि विश्लेषण गर्नुपर्ने अवस्था छ । समग्रमा स्रोत व्यवस्थापनका दृष्टिकोणले, अन्तर्राष्ट्रिय सहयोगलाई परिचालन गर्ने हिसाबले र निर्धारित योजना तथा कार्यक्रम कार्यान्वयनका हिसाबले चुनौतीहरु छन् । तोकिएको राजस्व सङ्कलन लक्ष्य भेटाउनका लागि राजस्व प्रशासनलाई चुस्त बनाउनुपर्नेछ । राजस्वका स्रोतलाई ठीक ढङ्गले पहिचान गर्ने र करको दायराको विस्तार गर्नुपर्नेछ । विकास साझेदार र दातृ निकायले दिल खोलेर सहयोग गरून् भन्नका लागि पहिले आफ्नै क्षमता विकास गर्नुपर्नेछ ।
एकातर्फ पुँजीगत शीर्षकमा बजेट विनियोजनको अनुपात घट्दै जाने र अर्कोतर्फ यो शीर्षकमा छुट्याइएको बजेट खर्च गर्न नसक्ने अवस्थाबाट हामी गुज्रिरहेका छौँ । यो समस्या समाधानका लागि कानुनी, विधिगत र संरचनागत सुधारका लागि सरकारले पहल गर्छ । हाम्रो कार्यसम्पादनमा कहाँ कहाँ प्रश्न रहे भनेर पहिचान गरेर समाधान गर्दै जानुपर्नेछ । चालु आवको बजेट कार्यान्वयनका क्रममा हाम्रो स्रोतको सामथ्र्यलाई विश्लेषण गरी प्राथमिकताका आयोजनामा परिचालन गर्नेतर्फ हामी केन्द्रित हुनुपर्नेछ । उत्पादन बढाउन, रोजगारी सिर्जना गर्नसक्ने, राम्रो र प्रतिफल दिने आयोजनामा खर्च केन्द्रित गर्नुपर्छ भनेर हामी अघि बढिरहेका छौँ ।
चालु आवको बजेटमा दोस्रो चरणको आर्थिक सुधार सुरु गरिने भनिएको छ, त्यसका लागि सरकारका तर्फबाट के कस्ता प्रयास होलान् ?
– समग्रतामा हाम्रो अर्थतन्त्रलाई देखिनेगरी सुधारको आवश्यकता छ । परम्परागत ढङ्गले जाने होइन कि सुधारका पहललाई थप प्रभावकारी बनाएर जानुपर्नेछ । बजेटमा उल्लेख गर्नुभएको सुधारको विषयलाई धेरै टिप्पणी गर्न चाहन्न । हामीले भने अर्थतन्त्रमा जे जस्ता समस्या देखिएका छन् त्यसलाई सुधार गरेर जाने कोणबाट हाम्रा प्रयास हुनेछन् । यसलाई पहिलो र दोस्रो सुधार भनेर अल्झनुभन्दा पनि प्रभावकारी सुधार नै अहिलेको आवश्यकता हो । हामी त्यसतर्फ केन्द्रित हुन्छौँ । मुख्यगरी निजी, सहकारी र सार्वजनिक क्षेत्रका अलगअलग भूमिका छन् । त्यसलाई उत्कृष्ट बनाउने गरी आर्थिक सुधारमा लैजाने हो ।
कार्यसम्पादन करार सम्झौता गरी जवाफदेही तथा उत्तरदायी रुपमा कार्यसम्पादन गर्ने भन्ने कानुनी व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन भएको जस्तो लाग्छ यहाँलाई ?
–कार्यसम्पादन करार सम्झौताको एउटा अभ्यास रहँदै आएको छ । कार्यसम्पादनमा आधारित रहेर व्यक्तिको मूल्याङ्कन गर्ने र निश्चित परिभाषित जिम्मेवारीप्रति जिम्मेवार बनाउने प्रणालीलाई जोड दिएर जानु जरुरी छ । त्यसमा हामी ध्यान दिन्छौँ ।
राजस्व सङ्कलनमा देखिएका समस्याको खास कारण के हो जस्तो लाग्छ ?
–कर प्रणालीमा सुधारका लागि कस्ता कदम आवश्यक छन् ? सरकारले के कस्ता योजना बनाएको छ ? राजस्व सङ्कलनमा जस्ता समस्या देखिएका छन् । यसका पछाडि एउटा मात्रै कारण छैनन्, धेरै कारण छन् । अर्थतन्त्रमा आएको शिथिलता, आर्थिक क्रियाकलापमा आएको सुस्तता, उत्पादन आयात, निर्यात, उपभोग आदि क्षेत्रमा आएको शिथिलताको एउटा प्रभाव छ । त्यसलाई अन्त्य गर्न उत्पादन बढाउनुपर्ने, माग बढाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता छ । हामीले अवलम्बन गरिरहेको राजस्व परिचालनसँग स्म्बन्धित ऐन, नियम कानुन छन् त्यसमा केही कमी कमजोरी छन् कि, ध्यान दिनुपर्ने विषयमा ध्यान पुग्न सकेको छैन कि भनेर हेर्नुपर्ने आवश्यकता छ । यद्यपि, हामीले करका दर तथा कर निर्धारणका सन्दर्भमा स्पष्ट कानुनी विषयमा निश्चित व्यवस्था छ । आर्थिक ऐनमार्फत बजेट सार्वजनिक क्रममा यो काम गर्छौं । हामीले प्राप्त गरेको अनुभवका आधारमा सूत्रीकरण गर्ने, विश्लेषण गर्ने र थप के गर्ने भनेर पूर्वतयारी गर्नु आवश्यक छ । त्यसका लागि करको दायरा विस्तार गर्ने, कर प्रशासनलाई प्रभावकारी बनाउने कर सङ्कलनका क्षेत्रमा जे जस्ता समस्या देखिएका छन्, त्यसलाई नियन्त्रण गर्ने, कर प्रशासनलाई प्रभावकारी बनाउनुपर्छ भन्ने हाम्रो सोच हो । त्यही अनुसार हामी अगाडि बढ्छौँ ।
सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम छ । ऋण र अनुदान पनि लक्ष्यअनुसार उठ्न सकेको छैन । सरकारले आन्तरिक ऋण धेरै उठाउँदा निजी क्षेत्रका लागि कर्जा परिचालन गर्नसक्ने धेरै ठाउँ बाँकी रहँदैन । यी समस्यालाई कसरी सम्बोधन गर्नुहुन्छ ?
– सार्वजनिक ऋणको हकमा सकेसम्म हामीले होसियारी अपनाउनुपर्ने नै हुन्छ । सार्वजनिक ऋणमा पनि मुख्यगरी आन्तरिक ऋणको आकार असीमित रुपमा बढ्न नपाओस् भनेर हामीले होसियारी अपनाउनुपर्नेछ । सरकारले आन्तरिक ऋण धेरै उठाउँदा बजारमा तरलताको अभाव वा निजी क्षेत्रमा प्रवाह हुने कर्जाको दायरामा सङ्कुचन आउन सक्ने पक्षमा पनि ध्यान दिन जरुरी छ । हामी के कुरामा बढ्दा जोड दिन्छौँ भने नी बजेटले निर्धारण गरेको सीमाभित्र आवश्यकता र अत्यावश्यक अवस्थामा सार्वजनिक ऋण परिचालन गर्ने हो । स्थिति हेरी सीमा निर्धारण गरिएको छ, सोही आधारमा परिस्थिति आवश्यकतामा ध्यान दिने हो । हाम्रो ध्यान आन्तरिक ऋणमा भन्दा पनि अन्तर्राष्ट्रिय एवम् वैदेशिक सहयोग, सहुलियतपूर्ण कर्जामा ध्यान दिनुपर्छ भन्ने हाम्रो मान्यता छ ।
मुलुकको समग्र अर्थतन्त्र सरकारको वित्तीय नीतिबाट निर्देशित हुन्छ र त्यसलाई सहयोग गर्नेगरी मौद्रिक नीति आउने गर्दछ तर अहिले अर्थतन्त्रका सबै समस्या समाधान मौद्रिक नीतिले गर्छ भन्ने स्थापित हुँदै गएको देखियो । अघिल्ला अर्थमन्त्रीहरुले सार्वजनिक रुपमै राष्ट्र बैङ्कले असहयोग गरेका कारण सुधारमा ढिलाइ भयो भनेर अभिव्यक्ति दिइरहनु भएको त्यसलाई तपाईं कसरी लिनुहुन्छ ?
– वित्तीय नीति र मौद्रिक नीति एक अर्कामा अन्तरसम्बन्धित हुन्छ । यसमा द्विविधाको कुरा भएन । खासगरी सरकारको बजेट आयो । सरकारको वित्त नीति सार्वजनिक भयो । सँगसँगै मौद्रिक नीति कस्तो हुन्छ ? त्यसले हाम्रो समस्या समाधान गर्ला त भन्ने जिज्ञासासँगसँगै थियो । मलाई लाग्छ यसपटकको मौद्रिक नीति बढी चर्चामा रहन गयो । यो चर्चामा किन रह्यो त भन्दा वित्त नीतिले सम्बोधन गर्न बाँकी रहेका विषयहरु पनि मौद्रिक नीतिले सम्बोधन गरिदिन्छ कि भन्ने अपेक्षा पनि कतिपयमा थियो । मौद्रिक नीति वास्तविक रुपमा आउँछ कि आउँदैन भन्ने पनि मानिसको अपेक्षा थियो । मेरो विचारमा वित्त नीति र मौद्रिक नीति एकअर्कामा अन्तरसम्बन्धित छन् । वित्त नीति अनुकूल नै मौद्रिक नीति आएको छ । यसबीचमा नेपाल राष्ट्र बैङ्क, अर्थ मन्त्रालयबीचको सम्बन्ध, वित्त नीति र मौद्रिक नीतिबीचको सम्बन्धहरु निःसन्देह विश्वासको जगमा खडा भएको हुनुपर्छ भन्ने मलाइ लाग्छ ।
लघुवित्त र सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले के कस्ता पहल चाल्छ ?
–लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रयासहरु भइरहेको नै छ । खासगरी त्यसको कर्जा प्रवाह कर्जा असुलीमा क्षेत्रमा जे जस्ता समस्या देखिएका छन् । मलाई लाग्छ धेरै हदसम्म लघुवित्त क्षेत्रका देखिएका समस्या समाधान हुने दिशामा गएको छ । सहकारी क्षेत्रमा अलिकति विकराल, जटिल देखिएको र कठिन भएको सत्य हो । कतिपयले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सहकारी आन्दोलनको औचित्यमाथि प्रश्न उठाएको पाउछाँै । त्यो ठीक तरिका होइन । सहकारी क्षेत्रमा देखिएको समस्याले सहकारी आन्दोलनको औचित्यलाई खण्डित गर्न सक्दैन । समस्या जहाँ छन् त्यहाँ प्रवेश गरेर समाधान गर्नुपर्छ । सहकारीमा देखिएका विकृतिलाई समाधान गर्दै सहकारी आन्दोलनलाई सबल, सशक्त र प्रभावकारी बनाएर जानुपर्छ । हाम्रो अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा अगाडि बढाउनुपर्छ । सहकारीहरु सहकार्यमा आधारित छन्, सहलगानीमा आधारित छन् । त्यसकारण उनीहरु स्वनियमनमा पनि छन् । यही आधारमा सञ्चालित हुन्छन् । पछिल्ला दिनमा स्वनियमनले मात्रै काम गरेन । त्यसमा विकृति, विसङ्गति देखा नपरोस्, बचतकर्ता पीडित नहुन् भनेर स्वनियमनका अतिरिक्त एउटा नियमनकारी प्रबन्ध, कानुनी, संरचनागत प्रबन्ध पनि आवश्यक छ भन्ने अनुभूति भएको छ । सहकारीमा देखिएका समस्या समाधान गर्ने कोणबाट विचार गर्दा नियमनका लागि कानुनी प्रबन्ध नै अहिलेको समाधान हो । सहकारी आन्दोलनको समस्याको समाधान यो हो भन्ने कोणबाट छलफल केन्द्रित भएको छ । हामीले सहकारी आन्दोलनभित्र देखिएका विकृतिलाई नियन्त्रण र नियमन गर्न नियमनकारी प्रबन्ध गर्नुपर्छ । कानुनी व्यवस्था गर्नुपर्छ ।
सागपात बिक्री गरेर ज्याला मजदुरी गरेर सहकारीमा बचत गरेका बचतकर्ता यतिबेला सबैभन्दा बढी पीडा र मर्कामा छन् । उनीहरुको माग कहिलेसम्म सम्बोधन होला ?
–सहकारी क्षेत्रमा देखिएको यो समस्या सम्बोधन गर्नका लागि सरकारले शीघ्र प्रभावकारी र परिणाममुखी प्रयास अगाडि बढाउँछ । हामी यसलाई विलम्ब गर्ने, कुनै ढिलाढाला गर्ने पक्षमा छैनाैँ । शीघ्र प्रभावकारी प्रयास गर्छौं । नियमनको व्यवस्था गरेर साँचो अर्थको सहकारीको प्रवद्र्धन गर्ने काममा सरकार अगाडि बढ्छ ।
नयाँ सरकार आएपछिका दिनमा शेयर बजारमा केही आशाको सञ्चार देखिएको छ । के यो स्वाभाविक हो ?
– प्रधानमन्त्रीले संसद्बाट नै शेयर बजारका सम्बन्धमा महत्वपूर्ण अभिव्यक्ति दिनुभएको छ । शेयर बजारमा अहिले जुन प्रकारको उत्साहको अवस्था देखिएको छ, त्यसको पछाडि सबैभन्दा पहिला सरकारको नीति, दृष्टिकोण, प्रधानमन्त्रीको महत्वपूर्ण सम्बोधन र अभिव्यक्ति नै जिम्मेवार छन् भन्ने म ठान्दछु । उत्साहको पछाडिको मुख्य कारण यो हो । अर्थमन्त्रालय सम्हालेको नाताले मेरो नाम पनि जोडिनुलाई मैले अन्यथा भन्न मिलेन तर मुख्य रुपमा सरकारको नीति र प्रधानमन्त्रीको अपिल, सम्बोधन नै मुख्य जिम्मेवार हो । आम लगानीकर्ताले यो सरकारलाई भरोसा गरेको छ, पत्याएको छ । यसले कुनै पनि अपरिपक्व निर्णय लिँदैन भन्ने बुझाइ छ । हामीले शेयर बजारलाई अर्थतन्त्रको ऐना भन्ने गरेका छाैँ । यो सरकारले नीतिगत स्थायित्व, राजनीतिक स्थायित्वको सुनिश्चित गरेर अगाडि जान सक्छ भनेर विश्वास पैदा भएको हो । सरकार पुँजी बजारलाई अनुशासित, मर्यादित, पारदर्शी ढङ्गले अगाडि बढाउन चाहन्छ । कुनै पनि अदृश्य व्यापार नहोस्, कुनै पनि अनियमितता नहोस् भनेर परिपक्व ढङ्गले अगाडि बढाउनुपर्छ भन्ने सरकारको मान्यता छ । कुनै पनि लगानीकर्ता पीडित नहुनुस् लगानी नडुबोस् भन्नेमा होसियार छ । (रासस)