प्रत्यक्षदर्शी बस चालक र घटनास्थलमा रहेकाहरूकाे बयान र पूर्णपाठ सिहत
काठमाडौं – चितवनको सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले हिजो सरकारलाई प्रतिवेदन बुझायो ।
रिजाल नेतृत्वको टीमले प्रतिवेदनमा प्रत्यक्षदर्शी बस चालक र घटनास्थलमा रहेकाहरूको बयानलाई पनि समेटेको छ ।

म सिन्धुलीबाट बर्दीबास हुँदै पोखरासम्मको लागि ग-२-ख. १८२२ नं. को यात्रुबाहक बस लिएर आँउदै थिए। राती २ बजेतिर नारायणघाट आईपुगें । त्यो समयमा भारी वर्षा भैरहेको थियो तैपनि सरासर अगाडि बढ्दै नारायणघाट-मुग्लिन सडकको सिमलताल भन्ने ठाँउमा पुगेँ। त्यहाँ पुग्दा माथिबाट गेग्रान सहितको लेदो झरिरहेको थियो । सडकमा पनि लेदो जम्मा भईसकेको थियो। सोही समयमा दुईवटा बसहरु क्रस हुन खोज्दै थिए । मैले बस ब्याक गरें, गाडीमा ओट राख्न लगाएँ र रोकेर बसें । गेग्रान र लेदो झन थपिदैँ गएको थियो । म झस्कें। बसहरु क्रस हुने कोसिस गर्दै थिएँ । सडकको लेदोले गर्दा बसलाई डिस्टर्भ भएको थियो । दुईवटा बसहरू बीचको ग्याप निकै कम थियो । बसहरु एकआपसमा टाँसिँदै गएको जस्तो देखिन्थ्यो । त्यत्तिकैमा मुग्लिनबाट नारायणघाटतर्फ जाँदै गरेको बस खस्यो खस्दा पहिला बसको अगाडिको भाग (शो ) खस्यो त्यसको लगत्तै नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको बस पनि खस्यो, खस्दा त्यो बसको पहिला ब्याक साइड खस्यो, खस्दासाथ पोखरीमा ढुङ्गा फ्याँक्दा आउने जस्तो आवाज आयो तर नदीमा केही देखिएन। मैले तुरुन्तै गाडीको स्टार्ट बन्द गरी तल झरेँ र एकजना यात्रुलाई तानेर सडकमा ल्याएँ । लगत्तै १०० नम्बरमा फोन गरी खबर गरें ।
डोजरले सडक सफा गर्दा सडकको माथितिर थुप्रिएको लेदो सबै सफा नभएको पाइएको र ठूलो पानी परेपछि त्यो लेदो समेत सडकमा थपिएर सडक अवरुद्ध भएको उनले सुनाएका छन् ।
त्यस्तै त्रिशूली नदीको दाँया (आँबुखैरेनी गाँउपालिका-५ तनहुँ) तर्फ बासिन्दा जंगबहादुर मगरले पनि यस्तो सुनाए-
त्यो राति निकै ठूलो वर्षा भएको थियो । गाँउको दुईतिर ठूला खोल्सा छन् पानीले डर पनि लाग्यो । तल त्रिशूली नदी छ । नदीको पारीपट्टी सिमलताल भन्ने ठाँउमा सडक माथिको सिन्दुरे खोल्सीबाट गेग्रान आइरहने हुँदा अघिल्लो दिनदेखि नै डोजरले काम गरिरहेको थियो । ठूलो पानी परेकोले डर लागेर राम्ररी सुत्न सकिएको थिएन । निद्रा पनि लागेन । बिजुली पनि थिएन । परिवारका सदस्यहरु उठेर गफ गर्दै बसेका थियौं । राती करिब साढे दुई वा तीन बजिसकेको हुँदो हो, त्यस ठाउँमा बत्ती बल्दै कुनै वस्तु तल नदीमा खस्यो र छप्ल्याङ्ग आवाज आयो । हामीले ठान्यौं राति डोजर त्यहीँ रहेछ पहिरोले तल खसाल्यो । पछि पो थाहा भयो यति ठूलो दुर्घटना घटेको रहेछ ।
चितवनको नयाँ मेडिकल कलेजमा उपचार गराइरहेका घाइते रौतहटका नन्दन दासले दुर्घटना विवरण यसरी सुनाएका छन्-
दुर्घटना हुनुभन्दा लगभग एक घण्टा जति अगाडि खाना खानका लागि बस रोकिएको थियो । रोकिएको स्थान मलाई याद छैन । खाना पश्चात् टि.भी. हेर्दै बसेको थिएँ। रातको समय भएकोले बेला बेला निद्रा पनि लाग्थ्यो । ब्युझिंदा टिभीमा ध्यान जान्थ्यो । त्यो बेला ठूलो पानी परिरहेको थियो सिमलतालको बाटोमा । गाडी मजाले हिंडिरहेको थियो माथिबाट एक्कासी पहाड खस्यो कि के भयो एक्सिडेण्ट त भएन मेरो गाडि हिँड्ने बेलामा एकैचोटि पल्टी खायो । अनि गाडी पानीमुनी गयो । म पाँच सात मिनेट पानीमा डुबेको अनि पानीले उचालेको । मलाई राम्रोसँग पौडी खेल्न नआएता पनि अलिअलि आउँथ्यो जसोतसो पौडिएर किनारमा पुगें अनि भिरबाट घिस्रँदै घिस्रंदै माथि सडकमा पुगेपछि सुरक्षाकर्मीले उपचारका लागि अस्पताल ल्याउनुभयो ।
प्रतिवेदनमा दुर्घटना स्थलमा कमजोर भूगोल तथा अत्याधिक क्रस स्लोप भएको देखिएको जनाइएको छ । सडकमा कुनै टेवा पर्खाल निर्माण नगर्दा वर्षाको समयमा पहिरो गई सडकमा क्रस गर्दै गएका दुईवटा बसलाई पहिरोले धकेलेर नदीमा खसालेको देखिएको संयोजक रिजालले बताए ।
दुर्घटनास्थलभन्दा माथिल्लो भेगमा ग्रामीण सडक बनाउँदा समग्र वातावरणीय पक्षमा ध्यान नदिएको र त्यसको प्रभाव तल्लो क्षेत्रमा परेको कार्यदलको निचोड छ ।
अध्ययनका क्रममा दुर्घटनामा बाँच्न सफल भएका व्यक्ति, प्रत्यक्षदर्शी, सडक विभाग, चितवन प्रशासन कार्यालयलगायतसँग छलफल गरिएको थियो ।
गत असार २८ गते नारायणगढ-मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए । दुईवटा बस अझै फेला परेका छैनन् भने २४ यात्रुको शव फेला परिसकेको छ जसमध्ये १९ जनाको मात्रै सनाखत भएको छ । दुर्घटनामा अझै कम्तीमा ३८ यात्रु बेपत्ता छन् ।
हेर्नुस् अध्ययन टोलीले तयार पारेको प्रतिवेदनको पूर्णपाठ








