नेपाली राष्ट्रिय महिला भलिबल टोली पुन एकपट भारतसँग फाइनलमा स्तब्ध बनेको छ।
भारतले खेल ३-२ ले आफ्नो पक्षमा पार्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को उपाधि जितेको हो।
घरेलु कोर्टमा भरिभराउ दर्शकमाझ नेपालले पहिलो सेट २५-२३ ले जितेको थियो।
२३-२० ले अघि रहेको भारत विरुद्ध लगातार पाँच अङ्क ल्याउँदै नेपालले सानदार पुनरागमन जित निकाल्यो।
तर दोस्रो सेटमा नेपाल पुर्ण रुपमा निरीह रहँदा भारतले खेल २५-१४ लेनै आफ्नो पक्षमा पारेको थियो। तर पुन तेस्रो सेटमा खेलमा फर्किएको नेपालले प्रतिस्पर्धात्मक रुपमा २५-२३ ले आफ्नो पक्षमा पारेका थिए।
तर चौंथो सेटमा पुन भारतले खेल २५-२१ ले आफ्नो पक्षमा पार्दा खेल निर्णायक सेटमा धकेलिएको थियो। निर्णायक सेटमा भने नेपाल निरीह रह्यो।
लिग चरणको खेलमा शनिबार भारतलाई नेपाली टोलीले ३–२ को सेटमा हराएको थियो । त्यो जीत नेपाली महिला भलिबल टोलीको ऐतिहासिक उपलब्धि हो ।
सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागको फाइनलमा अन्तिम सेट गुमाउदै नेपाल भारतसँग पराजित भएको थियो । २०२३ को काभा महिला च्यालेन्ज कपमा पनि नेपाल भारतसँग घरेलु मैदानमा स्तब्ध हुँदै उपाधी हात पार्नबाट चुकेको थियो । काभा महिला नेसन्स लिग भलिबलको तेस्रो स्थान इरानले प्राप्त गरेको छ ।
बुधबार भएको खेलमा इरानले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको हो । श्रीलंकालाई इरानले २५–२२, २८–२६, र २५–१७ ले पराजित गर्दै तेस्रो बन्यो । गत बिहीबारदेखि सुरु प्रतियोगितामा नेपाल, भारत, इरान, श्रीलंकासँगै माल्दिभ्स सहभागी थिए । माल्दिभ्स अंकवीहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।