images
images

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता नलिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई राहत पुग्ने गरी अन्तरिम आदेश जारी गरेको छ ।  चलाउनेलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गर्नेको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न बिहीबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले सरकारको नाममा यस सम्बन्धमा कारण देखाउन आदेश समेत जारी गरेको छ । आफूमाथि कुटपिट गरी ज्यान मार्न खोज्नेविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि चलाउने बुधवार सर्वोच्च पुगेका थिए ।

काठमाडौँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको ज्यान मार्ने उद्योगको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि चलाउने सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै बुधवार सर्वोच्च अदालत पुगेका थिए । बुधवार दर्ता भएको रिट बिहीबारकै पेसीमा चढेको थियो ।

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले सांघातिक आक्रमण गरेका थिए । त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेमाथि आक्रमण गरेको अभियोग लागेको थियो ।