काठमाडौं- निर्मला कुर्मीको मुद्दा अदालत पठाउन पटक–पटक सरकारले सहमति गरे पनि मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको विरोधमा काठमाडौंको कलङ्कीदेखि माइतीघरसम्म खाली खुट्टा हिँडेर (मार्चपास) विरोध प्रदर्शन गरिएको छ ।
अभियन्ता रुबी खानसहितको टोलीले बादसाह कुर्मीलाई सरकारले कारबाही गर्नुको सट्टा पुरस्कृत गरेको भन्दै कलङ्कीबाट खाली खुट्टा हिँडेर माइतीघर आएर प्रदर्शन गरेका हुन् । पार्टीले संरक्षण गरेकोविरुद्ध आज (शुक्रबार) बिहान १०ः०० बजेदेखि पाँचौ चरणको आन्दोलन माइतीघर मण्डलामा शुरु गरिएको हो ।

बाँकेकी निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोपी नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका छन् । बादशाह कुर्मीलाई एकल महिलाको अपहरण र बेपत्ता पारेको आरोप नटुङ्ग्याई प्रदेश मन्त्री बनाइएको छ । हुनतः विवाद भएकै बेला उनलाई सांसद बनाइएको थियो । नव नियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको मन्त्रिपरिषद्मा बादशाह नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका हुन् ।
निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादशाह कुर्मीलाई मन्त्री पदबाट तत्काल हटाउन उनीहरूको माग छ । कुर्मी हत्या मुद्दा तत्काल अदालत पुर्याउनु पर्ने तथा आन्दोलनकारीहरूको सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने उनीहरूले बताएका छन् । बाँकेको नेपालगञ्ज उपमहागरपालिका १७ कि निर्मला कुर्मीका श्रीमानको ०६२ मा मृत्यु भएको थियो । त्यसपछि आफ्ना दुई छोरासंग बसिरहेकी कुर्मीको ०६६ मंसिरमा १० दिनको अन्तरालमा निर्मलाका दुई छोराको रहस्यमय ढंगले मृत्यु भएको थियो ।
त्यसपछि निर्मलाका श्रीमान र छोराको नाममा रहेको घरजग्गा सुरक्षित राखिदिन्छु भन्दै बादशाह कुर्मीले लालपुर्जा र निर्मलाको नागरिकता लिएका थिए । त्यसपछि कुर्मी बेपत्ता भइन् । कुर्मी बेपत्ता बनाएको घटनामा नेपाली कांग्रेसका नेता बादशाह कुर्मीविरुद्ध उजुरी समेत परेको छ ।








