काठमाडौं – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामुदायिक वन विकास कार्यक्रमबाट करिब ३३ लाख घरधुरीहरु लाभान्वित भएको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित सामुदायिक वन दिवस—२०८१ को अवसरमा राष्ट्रिय पुरस्कार र प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्वन गरी स्थानीय समुदायको सहभागितामा राष्ट्रिय वन संरक्षण एवं व्यवस्थापन गर्ने नेपाल सरकारको नीतिअनुरुप ४ दशक पहिला कार्यक्रम शुरु भएको बताए। उनले यस कार्यक्रमबाट हालसम्म देशभरका २३ हजार भन्दा बढी सामुदायिक वन र उपभोक्ता समूहहरुले करिब ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र सदुपयोग गरिरहेको बताए।
उनले नेपालले सामुदायिक वन व्यवस्थापनबाट प्राप्त गरेका उपलब्धि, सफलता विश्वमा नै उदाहरणीय रहेको जिकिर गरे। उनले सामुदायिक वन लगायत समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रमले नेपालमा हरियाली वृद्धि गर्न वनको हैसियतमा सुधार ल्याउन, जैविक विविधता संरक्षण गर्न महत्वपूर्ण योगदान र जलाधार संरक्षण गर्न सहयोग गरेको उल्लेख गरे।
कार्यक्रमबाट स्थानीय समुदायको जीविकोपार्जन सुधार, स्थानीय सामुदायिक विकास, नेतृत्व विकास, तथा लैंगिक र सामाजिक समावेशीकरणमा उल्लेखनीय योगदान पुगेको बताए।
उनले भने, ‘समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्वन गरी स्थानीय समुदायको सहभागितामा राष्ट्रिय वन संरक्षण एवं व्यवस्थापन गर्ने नेपाल सरकारको नीति अनुरुप ४ दशक पहिला शुरु भएको सामुदायिक वन विकास कार्यक्रम नेपालको एक महत्वपूर्ण वन कार्यक्रम हो। यसबाट हालसम्म देशभरका २३ हजार भन्दा बढी सामुदायिक वन र उपभोक्ता समूहहरुले करिव ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र सदुपयोग गरिरहेका छन्। करिब ३३ लाख घरधुरीहरु लाभान्वित भएका छन्।’
वनमन्त्री ठकुरीले सामुदायिक वनको व्यवस्थापनबाट स्थानीय समदुायको वन पैदावरको व्यवस्थापन र आवश्यकता पूरा गरी जीविकोपार्जन सुधारका साथै उत्पादनमुखी वन व्यवस्थापन र उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना गर्ने र राष्ट्रिय समृद्धिमा योगदान पुर्याउन सहयोग गर्ने विश्वास व्यक्त गरे।