images

बहुमतको बलमा संविधान संशोधन गर्दैनौँ, विधि र प्रक्रियाबाटै हुन्छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ – उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बहुमतको बलमा संविधान संशोधन नगर्ने बताएका छन्।

शुक्रबार विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिंहले वर्तमान सरकारले संविधानमा अपुरो भएको कुरालाई पूर्णता दिन संविधान संशोधन गर्ने बताएका हुन्।

उनले संविधान संशोधन बहुमतको बलमा नगरी निश्चित विधि र प्रक्रियाबाट गरिने बताए। अधिकार दिने कुराहरुमा भएका कमी कमजोरी सच्याउन र समाजका असन्तुष्टिहरुलाई सम्बोधन गर्न संविधान संशोधन गर्न लागिएको उनले स्पष्ट पारे।

कांग्रेस जनतालाई अधिकार दिलाउन लडेको पार्टी भएको भन्दै जनतालाई दिएको अधिकार फिर्ता लिनेबारे नसोच्ने उनको भनाइ थियो। उनले ०७२ सालमा ल्याएको संविधानले दिएको अधिकार कटौती गर्न लागिएको भन्ने गलत व्याख्या भइरहेको भन्दै त्यस्तो नहुने बताए।

उनले ०७२ को संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न र कमी कमजोरीहरु सच्याउनकै लागि संविधान संशोधन गरिने बताए।

उनले भने, ‘यो सरकार संविधानको पालना गराउनको लागि, संविधानमा अपुरो भएका कुराहरुलाई संशोधन गर्ने। संशोधन निश्चित विधि र प्रक्रियाबाट हुन्छ। बहुमतको बलमा गर्ने होइन। विधि, प्रक्रिया पूरा गरेर गर्ने हो।’