इजरायल जाने कामदार छनोटमाथि प्रश्न उठेपछि मन्त्रालयले बनायो छानबिन समिति

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल जाने नेपाली कामदारको छनोट प्रक्रियामाथि छानबिन गर्न एक समिति गठन गरेको छ।

इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएको सहायक कामदारहरूको छनोट प्रक्रियामा पेस भएका कागजातबारे प्रश्न उठेपछि आज मन्त्रालयले समिति गठन गरेको हो। 

छनोट प्रक्रियामा पेस भएका कागजातहरूको आधिकारिकताको जाँच गर्न तथा समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन मन्त्रालयका उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए।

उनका अनुसार नेपाल र इजरायलबिच ‘जी टु जी’ प्रक्रियाबाट हुने छनोट प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको छ।