images

बिचौलियाले बनाएको ओली सरकार धेरै दिन टिक्दैनः वर्षमान पुन

काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार धेरै दिन नटिक्ने बताएका छन्।

पार्टी सम्वद्ध काठमाडौँ–रोशी गाउँपालिका (काभ्रे) सम्पर्क समितिको पालिका भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै पुनले सरकार लामो समय नचल्ने बताएका हुन्।

सरकारमा भएर पनि कांग्रेस–एमाले पंक्तिको मनोबल खस्किएको भन्दै उनले दुवै दलका नेताले आफूहरुसँगको अनौपचारिक कुराकानीमा सरकार एक सय दिन कटाउन मुस्किल रहेको बताउन थालेको दाबी गरे। आफूहरुको प्राथमिकतामा सरकार नरहेको तर चाहेको अवस्थामा यो सरकार ढाल्न कुनै समस्या नभएको उनको भनाइ थियो।

‘कांग्रेस–एमालेकै नेताहरुले हामीलाई सरकारले हनिमुन पिरियड कटाउँछ कि कटाउँदैन भन्न थालेका छन्। संसदमा र बाहिर पनि एमाले–कांग्रेस दुवै हामीसँग नरम व्यवहार गरिरहेका छन्’, पुनले भने, ‘किन भने संसदको अंकगणितका कारण कुनै पनि बेला माओवादी हामीलाई चाहिन्छ भन्ने उनीहरुले बुझेका छन्। सरकारका लागि हामीलाई कुनै हतारो छैन। कुनै अप्ठेरो पनि छैन। चाह्यौं भने हामी छिट्टै सरकारमा जान सक्छौँ। अहिलेको गणित कसैले बदल्न सक्दैन।’

उनले नयाँ सरकार बनेपछि कांग्रेस–एमालेमा आन्तरिक किचलो बढेकोसमेत बताए।