images

संघीय संसद्का पाँच वटा समितिको बैठक आज बस्दै

आज अन्तर्राष्ट्रिय सम्बन्ध, पर्यटन, राज्यव्यवस्था तथा सुशासन, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेका हुन् ।

पर्यटन समितिमा तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटेल्स लिमिटेडका सम्बन्धमा छलफल गरिने कार्यसूची छ । त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गरिने सम्भावित कार्यसूची छ ।

त्यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बाढी, पहिरो लगायतका मनसुनजन्य घटना एवं विपद् व्यवस्थापन सम्बन्धमा भएका काम कारबाही तथा भावी कार्ययोजना, सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयन कार्ययोजनाका विषयमा छलफल गरिने जनाइएको छ ।

त्यसैगरी, विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गरिने र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सार्वजनिक नीतिका सन्दर्भमा समितिको कार्यक्षेत्र र सीमा सम्बन्धमा छलफल गरिने कार्यसूची छ।