काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सबै नेपाली समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा रहेको बताएकी छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
उनले समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान पूरा गर्न सम्पूर्ण युवाहरु आफ्नो क्षेत्रबाट कुनै आग्रह/पूर्वाग्रह नराखी एकजुट भएर अघि बढ्नुपर्ने बताइन्।
उनले युवा परिषद्ले बनाउने मेनिफेस्टो युवाहरुको भविष्य र आगामी पुस्ताको पनि हितका लागि बन्नुपर्ने बताइन्। उनले साझा मूल्यहरुलाई अघि बढाउन सक्नेगरी निर्माण हुनुपर्ने बताएकी हुन्।
सबै युवाले मन, मस्तिष्क र विवेक प्रयोग गरेर युवाकै लागि बनाउँदैछौँ भन्ने भावनामा केन्द्रित हुन जरुरी रहेको उनले बताइन्। ‘हामी सबै जना महाअभियानमा छौं। हामी सबै समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा छौं। यो पूरा गर्नका लागि भने सम्पूर्ण युवाहरु आफ्नो क्षेत्रबाट कुनै आग्रह/पूर्वाग्रह नराखी एकजुट भएर अघि बढ्नुछ, त्यसका लागि आह्वान पनि गर्न चाहन्छु’, उनले भनिन्।
उपमेयर डंगोलले आफूले सोचेको जस्तो भविष्य बनाउन सबै एकजुट भइ देश विकासमा लाग्नुपर्ने बताइन्।