images

टीआरसी विधेयक पारित गर्नुअघि प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं- संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठकमा आज प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन्। संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक पारित गर्नुअघि सहमतिको सन्देश दिन शीर्ष नेताहरुले सम्बोधन गर्न लागेका हुन्।

बैठक  दिउँसो १ बजेका लागि बोलाइएको छ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा दफावार छलफलपछि संसदीय समितिले तयार पारेको प्रतिवेदन मंगलबारको प्रतिनिधि सभा बैठकमा पेस भइसकेको छ।

टीआरसी विधेयकका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूले आजको बैठकमा सम्बोधन गरेपछि बाँकी प्रक्रिया अगाडि बढाइने संसद् सचिवालयको तयारी छ।

यो विधेयक आजको प्रतिनिधिसभाबाट पारित भए भोलि  राष्ट्रिय सभाबाट पनि यो विधेयक पारित गर्ने तयारी छ। ​