काठमाडौं- गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आइजीपी)लाई निर्देशन दिएका छन्।
गृहमन्त्री लेखकले आइजीपी बसन्त कुँवरलाई गम्भीरतापूर्वक दुर्घटना कारण खोज्न निर्देशन दिएका हुन्।
उनले भने, ‘गठ्ठाघरको दुर्घटनामा के भएको हो ? दुर्घटना हुनुमा कसैको गल्ती छ कि? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि? यसको गम्भीरतापूर्वक छानबिन गर्नुस्।’
बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो।
मृतकको सनाखत भइसकेको छैन। जिल्ला प्रहरी कार्यालय भक्तपुरले आफन्त भनिएका व्यक्तिहरू सम्पर्कमा आएको र उनीहरु बिहान ९ बजेसम्म प्रहरी कार्यालय आइपुग्ने जनाएको छ।
ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको छ।