थप ५७ हिमालमा आरोहण खुलाउने सरकारको तयारी

काठमाडौं । सरकारले थप ५७ हिमाल आरोहणका लागि खुलाउने प्रक्रिया अघि बढाएको छ। पूर्व ताप्लेजुङदेखि पश्चिम हुम्लासम्मका विभिन्न ५७ हिमाल आरोहणका लागि खुला गर्ने विषयमा सरकारलाई सिफारिस गरेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताए ।

मन्त्रिपरिषदले स्वीकृति दिएपछि नयाँ हिमाल आरोहणको बाटो खुल्ने उनको भनाइ छ। विभागका अनुसार आर्थिक वर्ष २०८०र८१ को वार्षिक नीति तथा कार्यक्रममा समावेश कार्यक्रम अनुसार नेपाल(भारत तथा नेपाल(चीनसँग सिमाना जोडिएकासहित ५७ वटा हिमाल आरोहणका लागि खुला गर्न लागिएको हो।

खुला गर्न लागिएका ५७ हिमालमध्ये ४६ वटा हिमाल चीनसँग, दुई हिमाल भारतसँग सिमाना जोडिएका र नौ वटा हिमाल सीमाभित्रका रहेको बताए।

आरोहणका लागि खुला गर्न लागिएका हिमालहरू पाँच हजार ८०७ देखि छ हजार ८६८ मिटर उचाइसम्मका छन्।

हाल सरकारले आरोहणका लागि ४०१ वटा हिमाल आरोहणका लागि खुला गरेको छ। तर पनि सबैमा आरोहण हुन सकेको छैन। हाल पर्यटन विभाग र पर्वतारोहण संघले हिमाल आरोहण अनुमति दिँदै आएका छन्।