images

माओवादीको सत्ता बहिर्गमनमा कांग्रेस र एमालेको अपारदर्शी षड्यन्त्र : प्रचण्ड

काठमाडौं  – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र एमालेले अपारदर्शी तरिकाले सत्ताबाट बहिर्गमन गराएको बताएका छन् । पार्टी कार्यालय पेरिस डाँडामा  आज (शनिबार) आयोजित पोष्टबहादुर बोगटीको स्मृति सभामा संख्या भएकाहरुले षडयन्त्रमुलक तरिकाले मध्यरातमा हटाउने जमर्को गरेको गुनासो गरेका हुन् ।

‘जनार्दनले पार्टी फुटाउन लागेको भन्ने आशंका निराधार’

उनले भने, ‘…हामीले मुख्य त सुशासनको प्रयास गरे बापत संख्या भएका भनिएकाहरुले बडो अपारदर्शी तरिकाले, बडो षडयन्त्रमुलक तरिकाले सरकार हटाउने, मध्यरातमा हटाउने, आफ्नै पंक्तिलाई पनि जानकारी नदिइ गरियो ।’  केपी शर्मा ओलीले संसदको रोष्टमबाट बोलेको र देउवाले तलबाट टाउको हल्लाएको स्मरण गर्दै त्यहि दिनबाट आफूविरुद्ध ठूलै षडयन्त्रको गन्ध पाएको बताए ।

‘तपाईहरुलाई सम्झना होला, जतिबेला समीकरण परिवर्तन भएर एमालेसँग मिलेपछि मैले मत लिने क्रममा एमाले नेता (केपी शर्मा ओली) ले बोल्दै गर्दा हाम्रो बोलचाल बन्द भयो, बोलचाल फर्काउनु पर्‍यो भनेर मञ्चबाट वर्तमान प्रधानमन्त्रीले भनेको र तलबाट नेपाली कांग्रेस सभापति (शेरबहादुर देउवा) ले अब खुलाउने हो, बोलचाल खोल्ने हो भनेको, त्यो बडो प्रतिकात्मक थियो, मानिसहरुले त्यसलाई कम ध्यान दिए । त्यो अर्थपूर्ण थियो ।’ पूर्व प्रधानमन्त्री प्रचण्डले थपे, ‘तर त्यसलाई मैले बुझिहालें,  त्यो बुझेर मैले उहाँहरुलाई तपाईहरु मिल्नुस् । हामी प्रतिपक्षमा जान्छौं भनेकै हो । त्यहि दिनबाट देखिएकै थियो केहि न केहि षडयन्त्र हुन्छ हामीविरुद्ध भन्ने ।’

उनले सरकारबाट बाहिरिंदा विजेताका रुपमा रहेकाले जनताले बुझिरहेको बेला जनतामा जान चुनौती र अवसर रहेको बताए । उनले पार्टीभित्रका नेताहरुले नबुझे जस्तो गरे पनि जनताले बुझिरहे पनि आफ्नै संगठनभित्रका नेताले नबुझेको कार्यकर्तासामु गुनासो गरे । प्रचण्डले संगठनात्मक अराजकता, कुण्ठा र विचलनको समस्या देखा परेकाले पार्टीभित्र एकताबद्ध बनाएर पुनर्निर्माणको गति अगाडि बढाउन खोजिएको बताए ।

अध्यक्ष प्रचण्डले जनार्दन शर्माले पार्टी फुटाउने आशंका निराधार भएको उल्लेख गरे। उनले स्थायी कमिटी बैठकबाट पार्टी फुटाउन खोजेको आशंका मेटिएको बताए । तर, प्रचण्डले शर्माले उठाएका केही गम्भीर, व्यवहारिक र आशंका रहेको भन्न भने छुटाएनन् । उनले व्यवहारिक आशंकाका विषयमा अनुसन्धान हुने धारणा राखे ।