images
images

मल अभाव नहुने :मुलुकको विकासको मोडालिटि भौगोलिक अवस्थितीको अध्ययन गरेर मात्रै गर्नु जरुरी: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले यस वर्षको धान रोपाईमा रासायनिक मल अभाव नहुने बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले ७१ हजार मेट्रिक टन विभिन्न डिपोमा मौज्दात रहेको र भारतको कोलकत्ताबाट ४५ हजार डिएपी मल यही महिनाभित्र नेपाल भित्रिने बताए।

उनले भने,‘रासायनिक मलको व्यवस्था विगतभन्दा सुदृढ भएको छ। ०७९ साउनदेखि हालसम्म तीन लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको छ। त्यो मध्ये ७१ हजार मे ट विभिन्न डिपोमा मौज्दात रहेको छ। कोलकत्ताबाट ४५ हजार डिएपी यो महिनाभित्र नेपाल भित्रिन्छ। धान रोप्ने सिजनमा विगतजस्तो मल अभाव हुने अवस्था यो वर्ष छैन।’

प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको लागि १५ अरब विनियोजन भए पनि थप २३ अरबको स्रोत सुनिश्चित गरी मल आपूर्तिलाई सुदृढ गरिएको बताए। उनले यसबाट सरकार किसानहरूका लागि रासायनिक मल उपलब्ध गराउन जिम्मेवार रहेको तथ्य प्रमाणित भएको बताए।

मुलुकको विकासको मोडालिटि भौगोलिक अवस्थितीको अध्ययन गरेर मात्रै गर्नु जरुरी

प्रधानमन्त्री दाहालले वर्षायाम सुरु भएसँगै मुलुकका विभिन्न जिल्लामा बाढी पहिरोको कारण जनधनको क्षती भएको भन्दै बाढी पहिरो रोक्नको लागि मुलुकको विकासको मोडालिटि भौगोलिक अवस्थितीको अध्ययन गरेर मात्रै बनाउनु पर्ने आवश्यकता देखिएको बताए। उनले सरकार र स्थानीय तहले मुलुकको भौगोलिक अवस्थितीको बारेमा अध्ययन नगरी विकास मोडालिटि बनाएर बाढी पहिरोका घटना दोहोरी रहने अवस्था देखिएको बताए। उनले सरकारले बनाउने विकासको मोडालिटिको विषयमा गम्भिर रहेको उल्लेख गरे।

उनले भने,‘सरकारको तर्फबाट नेपालको विकासको मोडालिटिको बारेमा नेपालको भौगोलिक अवस्थितिको बारेमा अध्ययन गरेर  गम्भीर रुपमा नसोच्ने हो भने यस्ता घटनाको पुनारावृति हुन्छ। यसमा नेपाल सरकारको गम्भिर रुपले ध्यानकर्षण भएको छ। सबै मान्यसदस्यहरूले यो विषयलाई दीर्घकालिन रुपमा विचार गर्न जरुरी छ।’

प्रधानमन्त्री दाहालले बाढी पहिरो रोकथामको सांसदहरूले समेत भौगोलिक अवस्थाको अध्ययन गरेर मात्रै दीर्घकालिन विकासमा जोड दिन आवश्यक रहेको बताए।