images

टिकटकमाथिको प्रतिबन्ध हटाउन प्रधानमन्त्री ओलीको निर्देशन, छलफलमा सञ्चारमन्त्री

काठमाडौं – तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ।

प्रचण्ड नेतृत्वको सरकार ढलेपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दस महिनापछि टिकटकमाथिको प्रतिबन्ध हटाउन लागेको हो।

प्रधानमन्त्री ओलीकै चाहना अनुसार सकभर छिट्टै यसबारे निर्णय लिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई प्रधानमन्त्री ओलीले निर्देशन दिइसकेको स्रोतले बतायो।

प्रधानमन्त्रीको निर्देशनपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकका नेपाल प्रतिनिधिसँग छलफल गर्दैछन्।

ओली सरकारले सम्भवतः अबको केही दिनमा टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्नसक्ने अधिकारीहरु बताउँछन्। यसअघि पटक पटक टिकटकले प्रतिबन्ध हटाउन पत्र लेख्दा पनि प्रचण्ड सरकारले स्वीकारेको थिएन।

टिकटकका कतिपय भिडिओले समाजमा नकारात्मक प्रभाव पनि पार्नुका साथै सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै प्रचण्ड नेतृत्वको सरकारले २०८०  कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गर्ने निर्णय गरेको थियो।