images

प्रदेशमा नलडेको रास्वपाले स्थानीय नछोड्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको आगामी उपनिर्वाचनमा भाग लिने भएको छ । आज (बुधबार) बसेको केन्द्रीय समिति बैठकले आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो । प्रदेश तहको निर्वाचन ‘बहिष्कार’ गरेको रास्वपाले मिति घोषणा नहुँदै स्थानीय तहमा हुने उपचुनावका लागि भने तयारी थालेको हो ।

सो पार्टीका सभापति रवि लामिछानेले पनि स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताए । निर्वाचनका लागि कुन ढंगले अगाडि बढ्ने भनेर पार्टीभित्र छलफल प्रारम्भ भएको उनले जानकारी पनि दिए । यस सम्बन्धमा व्यापक छलफल गरेर निष्कर्षमा पुग्ने उनको भनाई छ ।

‘राजनीतिक दल चुनावमा भाग नलिने भन्ने कुरै छैन । कुन ढंगले भनेर हाम्रो छलफल भइरहेको छ’, उनले भने, ‘थप छलफल गर्दैछौँ कसरी, कुन तरिकाले जाने त्यसको वर्कआउट गर्छौं । बल्ल शुरुवात भएको छ ।’२१ सांसदसहित प्रतिनिधिसभाको चौंथो ठूलो दल रास्वपाले २०७९ को आम निर्वाचनमा प्रदेशमा उम्मेदवारी दिएको थिएन । बझाङ्ग प्रदेशसभा–१ (१) भएको उपचुनावमा पनि उसले सहभागिता जनाएको थिएन ।

आगामी मंसिरमा देशभर रिक्त रहेको ३४ स्थानीय तह उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न सरकार समक्ष प्रस्ताव गरिसकेको छ । गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि देशभर नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ ।

रविले शुक्रबार संसदीय छानबिन विशेष समितिमा बयान दिने
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले शुक्रबार सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिने भएका छन् । गोरखा मिडिया नेटवर्कमा रहँदा सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोप लागेका उनलाई संसदीय छानबिन समितिले बयानका लागि बोलाएको थियो ।

बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले आफूलाई भदौ सात गतेको बैठकमा बोलाएको जानकारी दिँदै बयानका लागि तयार रहेको बताए । प्रतिवेदन लेखनको अन्तिम तयारीमा रहेको समितिले विभिन्न व्यक्तिहरुसँग बयान लिइरहेको छ । एमाले नेता सूर्य थापाको नेतृत्वमा रहेको समितिले बयान लिन रास्वपाका सहमहामन्त्री विपिन आचार्यलाई पनि बोलाएको थियो । उनी ग्यालेक्सी फोरके टिभी खुल्दा गोरखा मिडिया नेटवर्कमा आबद्ध थिए । यस्तै समितिले सोही मिडिया नेटवर्क आबद्ध कुमार रम्तेलसँग पनि बयान लिइसकेको छ ।