images

कास्की प्रशासनको उर्दीःहरितालिका तीज खर्चिलो तथा भड्किलो नगर्न आग्रह

पोखरा- जिल्ला प्रशासन कार्यालय कास्कीले हरितालिका तीज खर्चिलो र भड्किलो गरेर नमनाउन उर्दी जारी गरेको छ ।

बिहीबार सूचना प्रकाशित गर्दै प्रशासन कार्यालयले अनावश्यक तामझाम नगरीकन तीज पर्व मनाउन निर्देशन दिएको हो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीद्धारा जारी सूचनामा अनावश्यक रुपमा भड्किलो र खर्चिलो रुपमा तीज कार्यक्रमहरूको आयोजन गरे र गराएमा कानुन बमोजिम कारवाही हुने चेतावनी दिइएको छ ।

‘तीजको मुख्य दिन आउनु भन्दा निकै अगाडिदेखी विभिन्न संघ संस्थाको नाममा होटल तथा पार्टी प्यालेसमा राती अवेरसम्म तडक भडकसहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने, गरगहना प्रदर्शन र ध्वानी प्रदुषण हुने गरी साँस्कृतिक कार्यक्रम गर्दा तीज पर्वको मौलिकता माथि आँच आउने एवम् विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुग्न जाने हुन्छ’, सूचनामा भनिएको छ ।
परम्परा एवं सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा सम्बद्र्धन गर्ने बाहेक अन्य कुनै पनि खर्चिला तथा महँगा तीजसँग सम्बन्धित कार्यक्रम सञ्चालन नगर्न र नगराउन प्रशासनले निर्देशन दिएको छ । समाजमा खलल पुर्‍याउने गरेर तडगभड्ग रुपमा होटल तथा रेष्टुरेण्टमा दर खाने कार्यक्रम गरेको भेटिएमा कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए ।

सूचनाको वर्खिलाप हुने गरी भए/गरेका कार्यक्रमको प्रशासनबाट सुक्ष्म निगरानी राखी सामाजिक व्यवहार (सुधार) ऐन, तथा नियमावली, २०३३ र अन्य प्रचलित कानून अनुसार कारवाही हुने व्यहोरा उनले जानकारी दिए ।