श्रममन्त्रीसँग आईओएम र कोइकाका निर्देशकको भेटवार्ता

काठमाडौं –श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) का निर्देशकसँग भेटवार्ता भएको छ ।

निर्देशक जोसेफ समुउल एप्पियाबीचले श्रममन्त्री भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।श्रम मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालका अनुसार भेटका क्रममा मन्त्री भण्डारीले नेपालबाट विदेशमा जाने श्रमिकहरूको हक अधिकार सुनिश्चित गर्न अन्तर्राष्ट्रिय संस्थाहरूको महत्त्वपूर्ण भूमिका रहने बताएका थिए । त्यसका लागि आईओएम जस्ता संस्थाले काम गर्नुपर्ने उनको धारणा थियो ।

सीप र आधारभूत भाषागत ज्ञान सिकाएर मात्र वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने विषयमा आन्तरिक तयारी भइरहेको उनले बताएका थिए । निर्देशक जोसेफले नेपाल सरकारको आप्रवासन नीति कार्यान्वयनमा आईओएम सधैँ सकारात्मक रहेको र सहयोगका लागि तत्पर रहेको बताएका थिए ।

श्रम मन्त्री भण्डारीले स्थानीय तहको रोजगार सेवा केन्द्र मार्फत रोजगार सम्बन्धी एकिकृत सेवा प्रदान गर्ने गरी काम अगाडि बढिरहेको जानकारी गराए । ‘रोजगारी सम्बन्धी सवै कार्य सञ्चालन गर्ने क्षमता बिकास गरी रोजगार सेवा केन्द्रलाई नै बलियो वनाउने योजना वनाएको छु,’ उनले भने,‘श्रम आप्रवासन र आन्तरिक रोजगारीमा योगदान गर्न सवै दातृ निकायसँग समन्वय भइरहेको छ ।’

उनले सबैभन्दा बढी सहयोग चाहिने मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरीकलाई उच्च जोखिमबाट निकाल्ने प्रयास भइरहेको वताए । ‘वेरोजगार र गरिवीको दर बढी भएको यी क्षेत्रका नागरिकलाई रोजगारी दिलाउने गरी कार्यक्रम अगाडि बढाएको छु,’ उनले भने

त्यस्तै मन्त्री भण्डारीसँग कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) का देशीय निर्देशक किम ह्युयाङ क्यूले शिष्टाचार भेट गरेका छन् । भेटको क्रममा के–हामी परियोजनाको सहयोगका लागि निजी बैंकहरूसँग सहकार्य गर्ने तथा अन्तर्राष्ट्रिय स्तरको सीप भएका नेपाली श्रमिक पठाउनका लागि सहकार्य गर्ने बताएका थिए ।